कोरोना संक्रमण फैलिनथालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नंं ३ र ५ मा निषेधाज्ञा लागू हुने भएको छ।
बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको निर्णयले शुक्रबार राति ११ बजेदेखि सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिका वडा नं. २ र ५ मा पाँचदिनको लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।
जलेश्वर सदरमुकामको पूर्व भार्गवसर कुट्टी, पश्चिममा रावि क्याम्पस, उत्तरमा नेपाली सेनाको प्रकौली व्यारेक र दक्षिणमा रातोपुलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाउन लागेको समितिले जनाएको छ। यस्तै महोत्तरी गाउँपालिकाको वाडा नं. ३ र ५ मा सोही समयदेखि निषेधाज्ञा लागु हुने छ ।
एकसाता अघि महोत्तरी गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमण पुरुषको उपचारको क्रममा धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिान धरानमा मृत्यु भएको थियो। उनको शव व्यवस्थापनमा खटेका तीनजना नेपाली सेना, दुईजना मृतकका परिवारका सदस्य र पाँचजना छिमेकलाई कोरोना संक्रमण भएपछि संक्रमण फैलिन नदिन प्रशासनले यस्तो निर्णय लिएको जनाएकाे छ।
यस्तै वडा नं. ५ मा ज्वरोको लक्षण भएका बिरामीहरु धमाधम फेला पर्न थालेपछि कोरोनाको आशंकामा उक्त वडालाई पनि निषेधाज्ञा गर्ने समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए।
निषेधाज्ञा गरिने क्षेत्र भित्रमा अति आवश्यक बाहेक सबै कार्यालय र सेवाहरु बन्द रहने जनाइएको छ। संक्रमण फैलिन नदिन यी क्षेत्रहरुमा निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालको भनाइ छ ।

प्रतिक्रिया