समाज


जडीबुटी तस्कर भन्दै कुटपिट भएपछि गाउँ छोडेर भागे वडाध्यक्ष

जडीबुटी तस्कर भन्दै कुटपिट भएपछि गाउँ छोडेर भागे वडाध्यक्ष

मानदत्त रावल
साउन ३, २०७६ शुक्रबार ३:५०,

जुम्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले कुटपिट गरेका छन्।

बागजाले सामुदायिक वनको जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता देखिएको भन्दै लुमगाउँका स्थानीयले उनीमाथि कुटपिट गरेका हुन्।

लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेका आरोप छ।

कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि कुटपिट भएको हो।

स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन्। सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ।

जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ। कुटपिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे।

“यस विषयमा वडाध्यक्षसँग भनाभन भएको हो, तर हातपात र कुटपिट भएको छैन,” उनले भने।

गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए।

तर, वडाध्यक्ष कालीबहादुर रावतले जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको दाबी गरे।

कुटपिट र दुव्र्यबहारपछि गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्न थालेको उनले बताए।

स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठह¥याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको उनको भनाई छ।

सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुमगाउँका स्थानीयवासीले ढुङ्गामुढा गरेका छन्। वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका हुन्।

डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए।

सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इन्चार्ज थापाको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad