समाज


बाढीले रामपुर नहर भत्कियो, साढे सात करोड क्षति

बाढीले रामपुर नहर भत्कियो, साढे सात करोड क्षति

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ४:३२,

पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ।

रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको नहर धान रोप्ने समयमा भत्किनएपछि कृषक चिन्तित बनेका छन्।

विभिन्न भागमा निर्माणकार्य भइरहेका बेला ठूलो बाढी आउँदा नहर भत्किएको हो।

वैशाखको पहिलो हप्ताबाट नहर मर्मतकार्य शुरु भएको थियो। मूल नहरको रजघरा क्षेत्रमा करीब ८० मिटर पर्खाल भत्किएको छ।

समयमा निर्माण नगर्ने तथा आलटाल गरेर बस्ने, अन्तिममा आएपछि ठेक्का आह्वान गरेर काम गराउने परिपाटीले नहर क्षति हुन पुगेको स्थानीय पिताम्बर गौतमले बताए।

प्रदेश ५ भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत १० करोड बोलपत्र आह्वान भएकामा सात करोड ४१ लाखको लागतमा नहर मर्मतको कार्य शुरु भएको थियो।

मूल नहरको दुई हजार ८ सय मिटर बढी आरसीसी पर्खालसहितको ढलान, तीन हजार तीन सय मिटर बढी शाखा नहरको मर्मतका लागि छ शाखामा विभाजन गरी तीन निर्माण कम्पनीले खुला प्रतिस्पर्धाबाट सात करोड ५१ लाखमा नहर ठेक्का लिएका थिए।

असारको अन्तिमसम्म काम गरेका निर्माण व्यवसायीले सल्लाह नै नगरी एक्कासि ठूलो पानी छाड्नाले समस्या भएको ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सन प्रालिका समशुलहक मियाँले बताए।

“साउन १ गतेदेखि तीन चरण गरेर पानी छाड्ने समितिसँग कुरा भएकामा एक्कासि एक मिटर २० सेमीको उचाइसम्म पानी छाड्दा भर्खर ढलान भएको पर्खाल थेग्न नसकेर भत्कन पुग्यो”, उनले भने।

निर्माणकार्य सम्पन्न हुन बाँकी रहेकाले अहिले भत्केका संरचना र निर्माण गर्न बाँकी भाग बाली भित्र्याएपछि शुरु गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख श्रीधर भट्टराईले बताए।

धान रोप्न कृषक आत्तिएपछि काम नसकिँदै पानी सञ्चालन गर्दा भत्किन पुगेको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताए।

 साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमीनलाई सिँचाइ गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो।

साविक दर्छा गाविसको ओइरेघाटमा बाँध बाँधेर निस्दीखोलाको पानीलाई सिँचाइका लागि ल्याएपछि बाँझिएका जमीन सदुपयोगमा आएका छन्।

झण्डै २२ किमी लम्बाइ रहेको यस नहरबाट तीन हजार ९१० घरपरिवारको ७७० हेक्टर क्षेत्रफल जमीन सिञ्चित हुने गरेको छ। अहिले भने पुनःनिर्माणको सर्वेक्षण गरेपछि सिञ्चित क्षेत्रफल एक हजार २०० पुगेको छ।

यस नहरबाट यहाँका १९ हजार ९२१ जनसङ्ख्या लाभान्वित भएका छन्। मूल नहरबाट पाँच शाखा र ४१ उपशाखा रहेको छ। नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad