चितवनको पुरानो मेडिकल कलेजमा भएको अवैध मिर्गौला प्रत्यारोपणमा २० जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएसँगै उनीहरुसँग बयान लिन सुरु गरेको छ।
पक्राउ परेका १३ जनासँग बयान सकिएपछि थुनछेक बहस हुनेछ। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले पक्राउ परेकामध्ये ११ जनालाई मुख्य अभियुक्त र ९ जनालाई सहयोगी (मतियार) को रुपमा सजाय माग गर्दै मुद्दा दायर गरेको हो।
मुद्दामा लगाइएको अभियोग ठहर भए ऐनअनुसार मुख्य अभियुक्तलाई ५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुनेछ। सहयोगीलाई त्यसको आधा मात्रै कैद र जरिवाना हुने कानुनी व्यवस्था छ।
घटनाको मानव बेचविखन अनुसन्धान ब्युरो र प्रहरी परिसर ललितपुरले अनुसन्धान गरेका थिए। मिर्गौला प्रत्यारोपण गराउनेकी बहिनी जमुना राजभण्डारी, मिर्गौला दिन व्यक्ति खोज्ने रेश्मा राई, योगेन्द्रराज थपलिया, भीमप्रसाद खनाल, मिर्गौला लिने व्यक्ति र अर्का आफन्त, पूर्णवीर जोशी, गीतादेवी वतास, रिजनवीर जोशी र मिर्गौला दिने सन्तोष राईलाई मुख्य अभियुक्त बनाइएको छ।
डा. राकेशकुमार वर्मा, डा. भुषणराज तिमिल्सिना, मिर्गौला प्रत्यारोपण समितिका सदस्यहरु डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती, रमेश काफ्ले, रामचन्द्र ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारी नवराज केसी र रामकुमार केसी, ललितपुर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई मतियारको रुपमा सजाय दिन माग गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी पक्राउ परेका छन्।
चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, कानुनी सल्लाहकार रमेश काफ्ले, डाक्टर बालकृष्ण कालाखेती र नोबेल अस्पतालका डाक्टर राकेशकुमार वर्मा पनि पक्राउ परेका छन्।
त्यस्तै, अर्घाखाँची दरबन्दी भई हाल नेपाल प्रहरी अस्पतालमा काजमा कार्यरत प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया पनि समातिएका छन्।
ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, भोजपुर घर भई भक्तपुरको जगाती बस्ने रेश्मा राई र भक्तपुरकी जमुना राजभण्डारी पनि पक्राउ परेका छन्। मिर्गौला बेच्ने खोटाङका सन्तोष राईलाई समेत प्रहरीले अभियुक्त बनाएको छ। मिर्गौला लिनेसहित ७ जना फरार छन्।
त्यसअघि अनुसन्धानको क्रममा प्रहरीले उनीहरुसँग बयान लिएको थियो। बयानका क्रममा कलेज अफ मेडिकल साइन्सेन्स शिक्षण अस्पताल पुरानो मेडिकल कलेज चितवनका सर्जन डा. वर्माले कागजातमा भएको त्रुटिमा अस्पतालको हात नहुने बताएका छन्।
मिर्गौला प्रत्यारोपणको लागि चेकजाँच गर्दा मिल्ने देखिएको र आवश्यक कागजात समेत सम्बन्धित निकायबाट कानुन अनुसार मिल्ने देखिएकाले मिर्गौला प्रत्यारोपण गरिएको बताएका छन्।
डा. वर्माले आफ्नो टोलीका डा. प्रवीण जोशी, डा. सुदीप के.सी, डा. भुषणराज तिमिल्सिना, डा.राजेश यादव र डा. किरण अधिकारीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शल्यक्रिया गरेको बयान दिएका छन्।
फोटोमा भएको व्यक्ति र शल्यक्रिया गर्ने व्यक्ति फरक परेमा हेर्ने काम मिर्गौला स्वीकृति समन्वय समितिको भएको उनीहरुको भनाइ छ।
नाता प्रमाणितको सिफारिस गर्ने ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले आफूले कुनै शुल्क नलिएको बताएका छन्।
‘जानाजान कागजपत्र किर्ते गर्ने तथा किर्ते कागजको आधारमा मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा मेरो कुनै पनि संलग्नता छैन,’ महर्जनले बयानमा भनेका छन्, ‘मलाई कानुनविपरीत मिर्गौला लिनु दिनु कानुन बमोजिम दण्डनीय हुन्छ भन्ने थाहा थियो। तर, मैले रिजनवीर जोशीको फोटोमा हालको जाहेरवालाको फोटो टाँस्ने तथा अन्य बेहोरा परिवर्तन गर्ने जस्ता काम गरेको होइन।’
जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारी रामकुमार केसीले पनि अरु विवरण हेरे पनि फोटो फरक परेको कुरा छुट्याउन भुलेको बयान दिएका छन्।
उनले सम्बन्धित काम गर्ने खरिदार व्यस्त भएकाले प्रतिलिपिमा ना.प्र को विवरण अभिलेख संग भिड्छ भनेर जिल्ला प्रशासन कार्यालय ललितपुरको छाप पनि आफैँ लगाई प्रतिलिपीमा लेखेको र खरिदार नवराज केसीले रुजु गरी सही गरेको बताएका छन्।
‘सबै कुराहरु अभिलेखमा हेरी भिडाएको पनि हो तर कार्यालयमा भिडभाड भएको कारणले नागरिकताको फोटोमा मेरो ध्यान पुगेन,’ केसीले बयानमा भनेका छन्, ‘भिडभाड भएको कारणले फोटो समेत अभिलेखमा नहेरी नचिनी रुजु गरी पठाउँदा फरक पर्न गएको हो। तर मेडिकल कलेजले रिजनवीर जोशीको नामको नागरिकताको प्रमाणीकरण गरी पठाइदिनु हुन भन्ने बेहोराको पत्र जिल्ला प्रशासन कार्यालय ललितपुरको प्रतिलिपी शाखामा प्राप्त भएको छैन।’
प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनालले अर्का प्रहरी योगेन्द्रराज थपलियाले एक जना हामी जस्तै बिरामी छ निजलाई डाक्टर राकेश वर्मासँग चिनजान गराइदिनु पर्यो भनेकोले भेट गराइदिएको बताएका छन्। त्यसपछि के के भयो भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन्।

प्रतिक्रिया