समाज


काठमाडौंमा सरकारी सर्वेक्षणः ४५ सयलाई हेर्दा मास्क लगाउने ७२ प्रतिशतमात्रै

काठमाडौंमा सरकारी सर्वेक्षणः ४५ सयलाई हेर्दा मास्क लगाउने ७२ प्रतिशतमात्रै

नेपालखबर
साउन २५, २०७७ आइतबार ११:१७,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौंमा गरेको एक अवलोकन सर्वेक्षणमा ४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मात्रै मास्क लगाएको भेटिएको छ।

परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीका अनुसार अवलोकन विधि अपनाई व्यक्तिगत र संस्थागत तहमा उक्त अनुसन्धान गरिएको थियो।

अनुसन्धानका लागि परिषद्ले ६ जना विज्ञ टोली गठन गरिएको र तथ्यांक संकलनका लागि ३९ जनालाई दुई दिन काठमाडौंका विभिन्न २३ स्थानमा खटाइएको उनले जानकारी दिए।

उनका अनुसार तरकारी बजार, सपिङ मल, सरकारी र नीजी अस्पताल, बैंक, होटल लगायत विभिन्न सार्वजनिक स्थानमा अवलोकन गरिएको थियो।

आइतबार स्वास्थ्य मन्त्रालयमा बुझाइएको उक्त अवलोकनका अनुसार व्यक्तिगत तहमा ४५०२ मा अवलोकन गर्दा मास्क लगाउने ७२.१ प्रतिशत तथा मास्क नलगाउने २७.१ प्रतिशत भेटिएको सदस्यसचिव ज्ञवालीले बताए।

यस्तै सार्वजनिक स्थलमा मास्क लगाउने २७०३ मध्ये सही तरिकाले मास्क लगाउने ७२.६६ मात्रै रहेको सर्वेक्षणको निस्कर्ष छ। बाँकी २७.३४ प्रतिशतले मास्क नाकमुनी, चिउँडो, घाँटी, हातमा झुण्डाउने, मास्कको कडाभागलाई नाकको आकारमा नथिचेर लगाउने गरेको उनले बताए।

यस्तै तरकारी बजार, मल, बैंक, मठमन्दिर, होटेलमा अवलोकन गर्दा ३१.२५ प्रतिशत स्थलमा मात्रै भौतिक दूरीको पालना गरिएको पाइएको सर्वेक्षणको निष्कर्ष छ। ६० प्रतिशत स्थानमा साबुनपानी र सेनिटाइजरको व्यवस्था भेटिएको उनले जनाए।

नीजी र सरकारीस्थलमा ओपीडी, फार्मेसी, इमर्जेन्सीमा मार्किङ कायम तर कुनैपनि अस्पतालको चमेना गृहमा भने दूरी कायम नगरेको भेटिएको छ। २० प्रतिशत अस्पतालमा मात्रै भौतिक दूरीको नियम पालना भएको अध्ययनले तथ्यांक सार्वजनिक गरेको छ।

यस्तै ३० वटा सार्वजनिक यातायातमा अवलोकन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्रै एउटा सिटमा एक जना बस्ने व्यवस्था, सेनिटाइजरको व्यवस्था भएको उनले बताए।

‘जनस्वास्थ्यका मापदण्ड जनमानसमा प्रभावकारी ढंगबाट पालना गरेको पाइएन,’ अध्ययनको निष्कर्ष सुनाउँदै ज्ञवालीले भने, ‘प्रभावकारी पालनाका लागि सार्वजनिक स्थलमा नियमित अनुगमन गर्न आवश्यक छ। जिम्मेवार निकायले कडाईका साथ पालना गराउनुपर्ने देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad