समाज


निर्मला हत्याकाण्डः विस्तारामा अर्जुन, इन्जिनियर बनाउने सपना अधूरै

निर्मला हत्याकाण्डः विस्तारामा अर्जुन, इन्जिनियर बनाउने सपना अधूरै

शेरबहादुर सिंह
साउन २९, २०७७ बिहिबार १०:१८,

दुई वर्षअघि कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा न्यायका लागि महेन्द्रनगरबाट शुरु भएको आन्दोलनले तत्कालीन अवस्थामा देशव्यापी रूप लियो। यहाँको महेन्द्रनगरमा निर्मलाका न्यायका निम्ति भन्दै नागरिक समाज, अधिकारकर्मी र आम नागरिकस्तरबाट भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सनी खुनाले शहादतसमेत प्राप्त गरे।

आन्दोलनका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २०७५ भदौ ७ गते घाइते भएका भीमदत्तनगरपालिका–४ बसपार्कका २१ वर्षीय अर्जुन भण्डारा अझै विस्तरामा छन्। सोही वर्ष भदौको पहिलो साता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका हत्यारा भन्दै मानसिक अवस्था ठिक नभएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्किएको थियो।

प्रहरीले मानसिक अवस्था ठिक नभएका आरोपित विष्टलाई फसाएर हत्यारालाई बचाउन खोजेको आन्दोलनकारीहरूको आरोप थियो। आरोपित विष्टको ‘डीएनए’ नमिलेपछि विष्ट सरकारी वकिलको कार्यालयबाट हाजिरजमानीमा रिहा भएका थिए।

आन्दोलनका क्रममा ट्राफिक चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अर्जुनसहित आठ जना घाइते भएका थिए। झडपमा गोली लाग्दा अर्जुनले दाँया खुट्टा नै गुमाउनु परेको छ। घाइतेपछि काठमाडौंमा लामो समय उपचार गराएका अर्जुन अझै शारीरिक र मानसिकरूपले समेत समस्याग्रस्त रहेको उनकी आमा शिवकला भण्डाराले दुखेसो पोखिन् ।

‘डेढ दशकअघि म आफैँ पतिवियोगमा परेर जेनतेन जीविका चलाइरहेकी थिएँ’, आमा शिवकलाले भनिन्, ‘कमाइखाने उमेर भएको छोरोको यस्तो हालत भयो।’
घटना भएको साँझ छिमेकीबाट अर्जुन गोली लागेर घाइते भएको खबर सुनेयता तनावमा रहेकी शिवकला अझै छोराको हालत देखेर छटपटाउँछिन्।

‘अत्तालिँदै छोरो भेट्न महाकाली अस्पताल जाँदा छोरालाई धनगढी लगिसकिएको थियो’, उनले भनिन्, ‘अहिले लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सदाका लागि थला मात्रै परेन, मेरो सहारा नै सकियो।’

शिवकलाले पछिल्लो समय अशक्त अवस्थामा रहेको अर्जुनको मानसिक अवस्थासमेत बिग्रिँदै गएको बताइन्।

‘न निर्मलाले न्याय पाइन्, न मेरो छोरोले राम्रोसित उपचार नै पायो’, उनले भनिन्, ‘न्याय र सुखसुविधा त हुनेखानेका लागि मात्रै रहेछ।’

काठमाडौंमा अर्जुनको एक वर्ष उपचार गरेर फर्केकी शिवकलाले छोरो सञ्चो भएको देख्ने धोको नै रहेको बताइन्।

‘दुई वर्ष पुग्न लाग्यो छोरा विस्तरामै छ, खुट्टाको उपचारमा सरकारले रु २२ लाख खर्च गर्यो’ उनले भनिन्।

घटनापछि सरकारले अर्जुनलाई पालनपोषणका लागि मासिक रु २५ हजार उपलब्ध गराइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

अर्जुनका दाएइ एकेन्द्रले भाइलाई इन्जिनियर पढाउनका लागि पढाइ छोडेका थिए।

arjun-bhandara1.jpgगाेली लाग्नु अघि अर्जुन/ फाेटाे: धनसि‌ंह धामी,महेन्द्रनगर

‘आर्थिक अवस्था राम्रो थिएन’ आमा शिवकलाले भनिन्, ‘भाइलाई इन्जिनियर बनाउँछु भनेर जेठो छोराले आफू पनि पढ्न पाएन।’

घाइते अर्जुन पढाइमा अब्बल हुनुका साथै प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय पढेर इन्जिनियरिङको तयारी गरिरहेका थिए।

‘छोराको उपचारमै धेरै खर्च भइसक्यो अब घर खर्च कसरी चलाउने भन्ने छ’, उनले भनिन्, ‘अपाङ्ग छोरोको मुख हेरेर बाँकी जीवन बिताउनुको विकल्प रहेन।’
आफूले विगतमा बजारमा ठेलागाडा चलाएर घर खर्च जुटाउँदै आएका उनको भनाइ छ।

अर्जुनको उपचारमा काठमाडौंमा सक्रिय रहेका कञ्चनपुरका युवा समाजसेवी सुरेन्द्र देउवा उपचारका क्रममा घाइतेसँगै परिवारले समेत निकै सास्ती खेप्नुपरेको बताउँछन्।

‘जिल्लाबाहिर नगएको अर्जुनकी आमालगायत परिवारलाई काठमाडौंमा उपचार गराउनु ठूलो समस्या थियो’, उनले भनिन्, ‘झण्डै छ महिनापछि अर्जुन होसमा आएका थिए।’

अर्जुन घाइते अवस्थामा जीवनमरणको दोसाँधमा रहेको देउवा सम्झिन्छन्। ‘त्यो बेला उपचार भइरहँदा अर्जुन अहिलेको जस्तो अवस्थामा आउला भनेर कसैले सोचेका थिएनौँ’ उनले भने, ‘शिक्षण अस्पतालको सम्पूर्ण उपचार खर्च पछि सरकारले नै व्यहोरेको थियो।’

यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारले घोषणा गरेबमोजिम निर्मला प्रकरण आन्दोलनका क्रममा घाइते भएकाहरुले उपचार खर्च पाएको जनाएको छ।

‘त्यो बेला घाइतेले निवेदन दिएपछि सरकारले सबैको सम्बोधन गरेको हो’, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा पदमराज भट्टले भने, ‘अहिले पनि केही घाइतेहरुले थप उपचारका लागि रकम माग गरेका छन्।’

उनले निर्मला प्रकरणमा अर्जुन भण्डारा, सुरेन्द्र देउवा, मञ्जु गिरी, चेतन भट्ट, सुरेन्द्रप्रकाश चटौत, उमेश देउवा, तीर्थ पनेरु र यज्ञराज पन्त घाइते भएको बताए।

त्यसका साथै प्रहरी हिरासतमा रहँदा आफूमाथि यातना दिएको भन्दै गृह मन्त्रालयलगायत उच्चस्तरीय निकायमा निवेदन दिएका दिलीपसिंह विष्टले पनि जिप्रकाबाट मासिक रु छ हजार पाइरहेको नासु भट्टले बताए।

‘अर्का घाइते अर्जुनलाई मासिक रु २५ हजार उपलब्ध गराउँदै आइएको छ’, उनले भने, ‘अन्य घाइतेले पनि थप उपचारका लागि निवेदन दिएकाले गृह मन्त्रालयमा भुक्तानीका लागि पहल गर्ने तयारी छ।’

प्रशासनले घाइतेहरुको निवेदनमा पेश गरेअनुसारको औषधिको रकम भुत्तानीका लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिरहेको छ। प्रशासनमा घाइते सुरेन्द्र देउवाले रु तीन लाख ८७ हजार ४१८ र मञ्जु गिरीले रु ४५ हजारको औषधिको बिल पेश गरेका छन्। घाइतेहरु सुरेन्द्रप्रकाश चटौत, चेतन भट्ट, उमेश देउवा, तीर्थ पनेरु र यज्ञराज पन्तले थप उपचारका लागि रकम माग गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad