समाज


उपचारमा खटेका जसपाका सांसद डा. यादवसहित पाँचजनालाई कोरोना संक्रमण

उपचारमा खटेका जसपाका सांसद डा. यादवसहित पाँचजनालाई कोरोना संक्रमण

शैलेन्द्र महतो
साउन ३०, २०७७ शुक्रबार १२:४८,

जनता समाजवादी पार्टीका संघीय सांसद डा. सूर्यनारायण यादव कोरोना संक्रमित भएका छन्।

बालरोग विशेषज्ञ डा. यादवलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो।

जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा समेत कार्यरत डा. यादवलाई एक संक्रमित बालकको उपचारमा खट्दा उनीसहित अन्य ५ जनामा कोरोना संक्रमण भएको हो।

झण्डै १० दिनअघि महोत्तरीबाट झाडापाखाला भई सिकिस्त अवस्थामा आएका ४ वर्षीय बालकको उपचारमा खट्दा आफुसहित पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको डा. यादवले बताए।
बालकको उपचारमा खट्ने दुईजना चिकित्सक, दुईजना ल्याब र एकजना हेल्थ असिस्टेन्टको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

‘एकजना बच्चा पखाला लागेर निकै सिकिस्त अवस्थामा आएका थिए। उनको उपचारमा सहभागी भएँ। पछि बच्चामा निमोनिया, ज्वरो देखियो। यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरेँ। त्यहाँ बालकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो,’ डा. यादवले नेपालखबरसंग भने ‘त्यहि बेलादेखि अस्पताल र क्लिनिक गएको छैन। होम क्वारेन्टाइनमा छु। तीनचार दिनदेखि अलिअलि ज्वरो र कमजोरी महसुस गरिरहेको थिए। आजदेखि ठीक छुु। चाँडै निको हुन्छ भन्ने अनुभूति भइरहेको छ।’

सप्तरी क्षेत्र नं. १ बाट निर्वाचित डा. यादव अहिले जनकपुरधाम उपमहानगरपालिका १० स्थित आफ्नै घरमा आइसोलेसनमा रहेका छन्।

संक्रमित बच्चाको उपचारको बेलादेखि नै शंका लागेपछि डा. यादव होम क्वारेन्टाइनमा बस्दै आएका हुन्।

कोरोना संक्रमण हुने संघीय सभाका दोस्रो सांसद हुन्। यसअघि पर्साका संघीय सांसद प्रदीप यादव पनि संक्रमित भएका हुन्।

प्रदेश २ को प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव र पर्साका मेयर विजय सरावगी पनि संक्रमित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad