सवारी दुर्घटना न्यूनीकरणको लागि प्रहरीले सञ्चालन गरेको अभियान अन्तर्गत सवारी साधनमा राखिएका झल्लरहरु हटाइएको छ।
सजावटको लागि सवारी साधनको अगाडिको सिसाको छेउमा जडान गरिएका बिभिन्न झल्लरहरुका कारण चालकले अगाडिको दृष्य राम्ररी नदेख्ने हुँदा दुर्घटनाको सम्भावना हुने हुँदा अनावश्यक रुपमा सवारी साधनमा जडान गरिएका झल्लरहरु हटाइएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले सवारी साधनमा राखिएका झल्लरहरु हटाउने अभियान गत असार २ गतेबाट शुरु गरेको थियाे। अभियान शुरु भए पछि हालसम्म १५०२ वटा सवारी साधनमा राखिएका १८५० वटा झल्लर हटाइएको छ।
डियुटीमा खटीएको ट्राफिक प्रहरीले सवारी साधनमा राखिएका झल्लर हटाएका हुन्। बिभिन्न प्रकारका सवारी साधन ट्रक, टिपर, बस लगाएतका सवारी साधनमा राखिएको झल्लर हटाइएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा आएपछि कार्यालयले सवारी दुर्घटना न्युनीकरणको लागि वार्षिक कार्ययोजना तयार गरी बिभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया