समाज


पाँच हजार क्षमताको एकीकृत आइसोलेसन निर्माणको तयारीमा जुटेका छौँः मेयर शाक्य

पाँच हजार क्षमताको एकीकृत आइसोलेसन निर्माणको तयारीमा जुटेका छौँः मेयर शाक्य

नेपालखबर
भदौ ३, २०७७ बुधबार १४:२६,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टिन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन्।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिए।

शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गरेका छन्।

‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टिन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ।

‘हाल महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण विश्व नै अहिले आक्रान्त बनेको छ। आजका दिनसम्म नेपालमा मात्रै अहिलेसम्म २८ हजार ९ सय ३८ बढी संक्रमित भइसकेका छन्। कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्’ विज्ञप्तिमा भनिएको छ।

‘हालसम्म प्राप्त पछिल्ले तथ्याङ्क अनुसार काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सय ५८ र काठमाडौँ महानगरमा मात्रै करीब १ हजार ६८ बढी संक्रमित फेला परेका छन्। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक छ।’

उनले काठमाडौँ महानगरपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्यायसम्म १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर ३२ वटै वडामा १७ सय ९५ जनालाई पीसीआर टेस्टिङ गरिसकेको पनि जानकारी गराएका छन्।

विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ।

त्यस्तो समस्यामा परेका उपत्यकावासीलाई १०२ मा सम्पर्क गरी सेवा लिन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad