समाज


सुरक्षाका कारण हट स्पटबाट हटाइए अस्पताल प्रमुख उपाध्याय

सुरक्षाका कारण हट स्पटबाट हटाइए अस्पताल प्रमुख उपाध्याय

नेपालखबर
भदौ ३, २०७७ बुधबार १४:४२,

कोरोना संक्रमणको ‘हट स्पट’ बनेको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायको सरुवा गरिएको छ।

एक वर्षदेखि अस्पतालको नेतृत्व सम्हाल्दै आएका उपाध्यायकै कमाण्डमा सो अस्पतालले ठूलो संख्याका कोरोना संक्रमितलाई व्यवस्थापन गर्दै आएकाे थियाे।

गतसाता उपाध्यायलाई मन्त्रालयमा फिर्ता बोलाई उनको ठाउँमा वीर अस्पतालका चिकित्सक सञ्जय ठाकुरलाई पठाइएको छ। रोग नियन्त्रणमा राम्रैसँग काम गरिरहेका उपाध्यायलाई फिर्ता बोलाएको भन्दै कतिपयले मन्त्रालयको आलोचना पनि गरेका छन्।

साउन २५ गते अस्पतालमा तोडफोड भएपछि उनलाई मन्त्रालयमा फिर्ता बोलाइएको हो।

एउटा समूहले अस्पतालमा प्रवेश गरी चिकित्सकको मोटर तथा अस्पतालमा तोडफोड गरेका थियो। त्यसपछि सरकारले चिकित्सकहरुको सुरक्षाका लागि सुरक्षाकर्मी प्रदान गरेको थियो।
तर स्थानीय राजनीतिक नेतृत्वले तोडफोडमा संलग्न रहेकालाई कारबाही गर्नुको साटो बचाउन खोजेपछि उपाध्याय असन्तुष्ट रहेका उनी निकटहरु बताउँछन्।

अस्पताल विकास समितिकै सदस्य समेत तोडफोड गर्ने हुलमा आएको र बचाउन नखोजेको विषयमा उनले आपत्ति जनाएका थिए।

‘तोडफोडमा संलग्न भएकालाई कारबाही गर्नुका साटो क्षति भएको मोटर मेयरले नै बनाइदिने र अस्पताल सांसदले बनाइदिने जस्ता कुरा आएपछि उनी असन्तुष्ट रहँदै आएका थिए,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रालयले समग्र परिस्थितिलाई ध्यान दिँदै उनलाई यहाँ झिकाएको हो।’

वीरगञ्जमा एक निजी अस्पतालमा ज्वरो आएकी युवतीको उपचार गर्न नमान्दा मृत्यु भएपछि आक्रोशित बनेका मृतकका आफन्तहरुले नारायणी अस्पतालमा तोडफोड गरेका थिए। सरकारले कोरोना संक्रमितको उपचार नगरेको भन्दै सो आक्रोशित समुहले अस्पतालमा आक्रमण गरेको थियो।

त्यसक्रममा उपाध्याय र अर्का चिकित्सक उदयनारायण सिंहको मोटरमा क्षति पुगेको थियो। त्यसैगरी स्वाब संकलन गर्ने बुथ र स्यानिटाइज गर्ने मेसिनमा समेत सो समूहले तोडफोड गरेको थियो।

उपाध्यायसँग काम गर्दै आएका अन्य चिकित्सकहरुले भने संकटका अवस्थामा नेतृत्व गरिरहेको व्यक्तिलाई फिर्ता बेलाउँदा समस्या सिर्जना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

मन्त्रालयमा फिर्ता बोलाएपछि शनिबार काठमाडौं आएका उपाध्याय होम क्वारेन्टिनमा छन्।

नेपालखरबसँगकाे छोटो प्रतिक्रियामा उनले संकटका बेला अस्पतालको नेतृत्वमा एक दिन पनि ग्याप हुन नहुने बताए।

‘प्रतिस्थापनमा जो जानु भएको छ अनुभव भएको चिकित्सक हुनुहुन्छ। पछिल्लो स्थानीय परिस्थितिको बारेमा केही दिनभित्र बुझ्न सक्नुहुन्छ’ उपाध्यायले भने।

उपाध्यायसहित केहीलाई प्रशासनले सुरक्षाकर्मी प्रदान गरेको थियो।

‘चिकित्सकले सधैँ पीएसओ साथमा लिएर काम गर्न सक्दैन नि’ उपाध्यायले नेपालखबरसँग भने।

पछिल्लो समयमा पर्सा जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन्। सरकारले जारी गरेको पछिल्लो तथ्यांक अनुसार अहिले सो जिल्लामा १ हजार ३१३ सक्रिय संक्रमित रहेका छन्। यो काठमाडौंपछि दोस्रो धेरै संक्रमित भएको जिल्ला हो।

याे पनि: वीरगञ्जमा संक्रमितको संख्या गनिनसक्नु छ, सेवा दिन नसक्दा मन रुन्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad