विचार


वीरगञ्जमा संक्रमितको संख्या गनिनसक्नु छ, सेवा दिन नसक्दा मन रुन्छ

वीरगञ्जमा संक्रमितको संख्या गनिनसक्नु छ, सेवा दिन नसक्दा मन रुन्छ

डा. मदन उपाध्याय
साउन २७, २०७७ मंगलबार १३:२३,

पर्सामा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन्। त्यसैले यहाँको अवस्था भयावह र जटिल बन्दै गएको छ। जति संक्रमित छन्, ती क्लस्टरमा भेटिएका छन्। त्यसैले भाइरस समुदायमा फैलिसकेको देखिन्छ।

संक्रमितको संख्या गन्न सक्ने अवस्था छैन। बढेको बढ्यै छ। फेरि फ्रन्टलाइनमा काम गर्नेहरु नै संक्रमित छन्। नारायणी अस्पतालमा मात्रै डाक्टर, नर्स, सफाइ कर्मचारी समेत गरी ५१ जनामा संक्रमण भएको छ, अझै केही थपिने हाम्रो आशंका छ।

यहाँ रहेका अन्य अस्पतालमा पनि त्यस्तै अवस्था रहेको उनीहरु बताउँछन्। भाइरस नियन्त्रण गर्नै हम्मे पर्ने खतरा बढ्न थालेको छ। किनभने यो दुई हप्तामा यति धेरै पोजिटिभ केस आयो कि सबै संक्रमणमा परेको जस्तो लाग्छ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, मेयर पदका उम्मेदवार रहबर अन्सारीदेखि प्रदेश २ का मन्त्रीहरु समेत संक्रमणमा परे। अब हामीलाई सेवा दिन कठिनाई भइसकेको छ। हाम्रो अस्पतालमा ५० बेडको क्लिनिक र २० बेडको आइसोलेसन सञ्चालनमा राखेका छौं। त्यसबाहेकको अन्य नियमित सेवा दिन सकेका छैनौं।

नियमित सेवा चलाउनुअघि सबै कर्मचारी, डाक्टर र नर्सको पीसीआर परीक्षण गरेर नेगेटिभ आएपछि अघि बढ्ने काम हामी गर्दैछौं। भोलिसम्म स्वाव संकलन सकिन्छ अनि त्यसको रिपोर्ट हेरेर नियमित सेवा चलाउने सोच्दैछौं। तर, यति धेरै जनशक्तिमा कोरोना पोजिटिभ आएपछि अहिले यहाँ रहेको जनशक्तिले मात्र त्यसलाई धान्न सक्दैन। हामीले अस्थायी कोभिड अस्पताल पनि चलाउनु पर्ने र यो (नारायणी) अस्पताल पनि सञ्चालन गर्नुपर्ने छ। अस्थायी कोभिड अस्पताल ५० बेड जनरल वार्ड र १० बेडको आईसीयूसहितको हो, जहाँ दैनिक ३० जना कर्मचारीले २ हप्ताको लागि ड्युटी गरेर सेवा दिइरहनुभएको छ।

सँगसँगै हामीले सम्झौता गरेको एक सय बेडको त्रिभुवन अस्पतालमा पनि आईसीयूका २६ वटा बेडमा बिरामी छन्। अरु अस्पतालमा पनि बिरामीको टन्नै संख्या छ, भरिभराउ छ, एउटा बेड पनि खाली छैन। दैनिक रुपमा अझै संक्रमित थपिने क्रम जारी छ। रिपोर्टमा पोजिटिभ केस नै बढी देखिएको छ।

अब हामीले नयाँ बिरामी भर्ना गर्न सकेका छैनौं किनभने ६० प्रतिशतभन्दा बढी लक्षण देखिएका केसहरु छन्। अब उहाँहरु कोही होम क्वारेन्टिनमा र होम आइसोलेसनमा बसिरहनुभएको छ। त्यसैले सेवा प्रवाहमा ठूलो चुनौती छ।

बिरामीलाई भनेजस्तो सेवा दिन सकेका छैनौं। अहिले मन साह्रै रुन्छ। किनभने हामीले तयारी गर्न नसकेको कारणले बिरामीले दुःख पाइरहेका छन्। यो तयारी अस्पतालले गर्न सक्ने कुरा होइन, अस्पतालले भ्याएसम्म गरिरहेको छ। दुईवटा अस्पताल चलाएको छ, अनुगमन गर्नुपर्ने छँदैछ, सेवा समेत दिनुपरेको छ।

न तयारी न होसियारी
तर, यसबाट जोगिन जुन सुरक्षाको विधि अपनाउन भनिएको छ, त्यसलाई सर्वसाधारणले मात्र होइन कसैले पनि पालना गरेका छैनन्। भीडमा नजाने, भौतिक दूरी कायम राख्ने, मास्क र स्यानिटाइजर लगाउने र सकभर घरबाट ननिस्कने, निस्कनै परेपनि सुरक्षाको विधि अपनाउने भनेपनि त्यो पालना भएको छैन।

भारतसँगको सीमा बन्द नभएकाले धेरै मानिसको आवतजावत भइरहेको छ। संक्रमण रोक्न राज्यका अरु निकायहरुले गर्नुपर्ने काम गरेका छैनन्।

आवश्यक पूर्वतयारी पनि गरिएन। आइसोलेसन सेन्टरको अभाव छ। परीक्षण पूर्ण रुपले गर्न सकिएको छैन। होम आइसोलेसनमा बसेका मानिसहरुको जानकारी स्थानीय निकायहरुले लिन सकेका छैनन्। कतिपयको तथ्यांक नै छैन। पोजिटिभ आइसकेपछि १० दिनपछि गर्नुपर्ने स्वाब कलेक्सन वा तिनीहरुको अवस्था बुझ्ने काम गर्न सकिएको छैन। ट्रेसिङको काम एकदमै फितलो छ। तीनै तहका सरकारको सहकार्य, समन्वय, सहजीकरण हुन सकेको देखिँदैन। जताततै कमजोरी छ। त्यसकारण अवस्था झन् भयावह हुने देखिन्छ।

मृत्युदर उच्च छ। पर्साको मात्रै ६, ७ प्रतिशतको कोरोनाबाट मृत्यु भएको छ। यो अनुपात धेरै नै हो। यही किसिमले पोजिटिभ केस बढ्दै गयो र हामीले सम्भावित संक्रमितलाई व्यवस्थापन गर्न सकेनौं भने अझै यो संख्या बढ्छ। किनभने अहिले नै हजारको हाराहारीमा सक्रिय संक्रमित छन्। त्यसमा पनि केहीमा गम्भीर खालका समेत लक्षण देखिएका छन्। त्यो घटाउन संक्रमणको चेन ब्रेक गर्नुपर्छ। अर्काे कुरा पोजिटिभ पुष्टि भएकाहरुलाई उचित व्यवस्थापन गर्नैपर्छ। नत्र त्यसले थप भयावह अवस्था निम्त्याउँछ।

सबै जिम्मेवार व्यक्तिहरुलाई समेत कोरोना देखिएपछि सर्वसाधारणमा पनि नहोला भन्ने अवस्था छैन।

केन्द्रबाट विज्ञटोली अथवा विज्ञ स्वास्थ्यकर्मी पठाइदिन धेरै पहिलेदेखि अनुरोध गरेपनि अहिलेसम्म कोही आइपुग्नु भएको छैन। स्वास्थ्य सेवाका महानिर्देशक यहाँ आएर बुझेर पनि जानुभएको हो। मैले पनि पटक पटक चिठी पठाउने र मौखिक रुपमा फलोअप गरेको हो तर, अहिलेसम्म कसैलाई पठाइएको छैन। त्यसले हामीलाई थप चुनौती दिएको छ। किनभने, हाम्रो मुख्य समस्या जनशक्ति अभाव हो। दोस्रो हो, भौतिक संरचना र तेस्रो, आवश्यक सामग्री आपूर्ति। यी तीनै पक्षमा हामी असफल भएका छौँ।

संख्या त दैनिक बढिरहेको छ। आज (साउन २७ गते) मात्र ७० जनामा संक्रमण पुष्टि भयो। हाम्रोमा एकै दिन एक सय ७३ जना पनि थपिएका थिए। संक्रमितको संख्या तलमाथि भइ नै रहन्छ। तर, सत्य कुरा के हो भने अब एकजना मात्रै संक्रमित थपिए पनि उसलाई आइसोलेट गर्ने अवस्था छैन।

त्यसैले हामीले संक्रमितलाई घरमै बस्नुहोस् भन्नेबाहेक अरु उपाय छैन। अहिले ५ सय बेड भएको अस्पताल नभइकन हामी सबै संक्रमितलाई उपचार गर्न सक्दैनौं।

यसमा सहकार्यको पाटो अलि कम भएको हो कि? दैनिक संक्रमितको संख्या बढ्न थालेपछि नेपाल सरकारले, महानगरपालिकाले, प्रदेश सरकारले आइसोलेसन सेन्टर बनाउनुपर्ने थियो। तर, एकदमै काँचो काम भएको छ। सहकार्य र सहजीकरण छ्रैन।

पारिका मानिस आउने क्रम रोकिएन
यस क्षेत्रमा कोरोना बढ्नुका केही कारण छन्। एउटा त खुला सीमा हो। प्रदेश २ का हरेक जिल्ला भारतसँग जोडिएका छन्। त्यसमा पनि एउटा वैधानिक नाका छ र अर्काे चोरबाटो। वैधानिक सीमा सिल गर्दा पनि जंगलबाट आउने क्रम रोकिएन। आवतजावत मजाले भइरह्यो। निषेधाज्ञा, कर्फ्र्यु जे लगाए पनि मान्छे आउने क्रम रोकिएन। पारिका मानिसहरु नेपालमा आएर व्यापार गर्ने र बेलुका फेरि उतै फर्किने भइरहेको छ। यसले गर्दा पनि आवतजावत खासै रोक्न सकिएन।

अर्काे, भारतका मानिस लामो समयसम्म नेपालमै बस्ने अनि भारतपनि घर भएपछि दुवैतिर बस्ने गर्दा रहेछन्। अर्काे परिवहन र सामान ओसार्ने सवारी साधन, त्यसमा आउने मानिसहरुबाट पनि अन्यलाई सरेको देखिन्छ। ती सबैको चेकजाँच गर्न सकेको भए अलि नियन्त्रण हुन सक्थ्यो।

बारा, पर्सामा रहेका अधिकांश उद्योग कलकारखानामा काम गर्ने भारतीय कर्मचारी र मजदुर रहेछन्। फेरि उनीहरुको बसाइ समूहमा हुने रहेछ, जसले एक व्यक्तिबाट अर्काेमा सजिलै सरेको हुनसक्छ।

यस क्षेत्रमा चैतबाट संक्रमण सुरु भयो। जेठमा अलि सेलाएको थियो। असारमा भारतबाट आउने केही साथीहरुमा संक्रमण देखियो। असारपछि लक्षणसहितको केस बढ्न थालेको हो। त्यो बीचमा जुन तयारी गर्नुपथ्र्याे, त्यो गर्न सकेनौं। न स्थानीय सरकार, न प्रदेश सरकार र न संघीय सरकारबाटै त्यो तयारी भयो।

त्यसले आइसोलेसन सेन्टरको अभाव भयो। लजिस्टिक अभाव भयो, अहिले त कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङको पनि अभाव छ। प्रत्येक दिन सयौं संख्यामा संक्रमित आएपछि ट्रेसिङ गर्न पनि समय लाग्छ। गर्न सकिँदैन। यी सबै कारणले गर्दा समस्या दिनदिनै बढ्न थालेको छ। अब यसलाई नियन्त्रण गर्न सबैभन्दा पहिला संक्रमणको चेनलाई ब्रेक गर्नुपर्छ।

तीनै तहले समयमै यो क्षेत्रमा सबै कुरा केन्द्रित गरेको भए अहिलेको भयावह अवस्था आउने थिएन जस्तो लाग्छ। सीमा रोकेको भए पारिकाले प्रवेश पाउने थिएनन्। हामीले पनि तयारी गरेर आइसोलेसन सेन्टरमै बिरामी लैजान सकेको भए, क्वारेन्टिनको व्यवस्थापन गर्न सकेको भए यो संख्या कम हुन्थ्यो। होम आइसोलेसनमा बस्दा बनाइएको नियम पालना हुन सक्दैन किनकि त्यो मापदण्डको घर नै पर्याप्त छैनन्। अट्याच ट्वाइलेट, बाथरुम भएका घर कति नै हुन्छन र! बिरामी घरमै बसेका छन्, नियम पूरा गर्न सकेका छैनन्, पालना गर्न समस्या पनि छ। यी सबै कुराले अहिले यो अवस्थामा हामी पुग्यौं।

संक्रमण व्यापक फैलिएकोले त्रासको वातावरण छ। डाक्टर, नर्स र काम गर्ने कर्मचारीलाई नै संक्रमण देखिएपछि के हुन्छ भन्ने चिन्ता लिएर काम गर्नुपरेको छ। त्यसलाई ट्याकल गर्न सहज छैन। काउन्सिलिङ गर्नुपर्ने छ। उपचारमा खटिनेहरुले सुरक्षाको विधि अपनाएका छौं। पीपीई नलगाई काम गर्दैनौं, अरु विधिहरु पनि फलो गर्छौं। पूर्ण सुरक्षित अनुभूति नभई सेवा प्रवाह त गर्दैनौं तर, जति सुरक्षा विधि अपनाएपनि हामी संक्रमित हुन छाडेका छैनौं। अहिले पोजिटभ मात्रै होइन लक्षणसहितको संक्रमित देखिएकोले हामीले आफ्नै सुरक्षा गर्न नसकेको पनि हुनसक्छ। अथवा हाम्रो कमीकमजोरी, हेलचेक्र्याइँ भएर पनि हुनसक्छ।

संक्रमित धेरै बढ्नुमा अहिलेको भाइरसले स्वरुप परिवर्तन गरेको हो कि जस्तो लागेको छ। जसले गर्दा एकैपटक संक्रमण तीव्र रुपमा फैलिएको हुनसक्छ। कोभिडसँगै अरुपनि रोग सँगैसँगै आएको पनि हुनसक्छ। हामी अधिकतम रुपमा सुरक्षित रहेर रोगसँग लड्ने प्रयत्न गर्दैछौं।

(नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायसँग नेपालखबरकर्मी सागर न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad