कोटेश्वरको एक परिवारका सदस्य यसैहप्ता एउटा भेटघाट कार्यक्रममा सहभागी भएका थिए।
उक्त भेटघाटमा सहभागी एकजनालाई कोरोना संक्रमण पुष्टि भयो। कन्ट्याक्ट ट्रेसिङ गर्दा सोहि परिवारका अरु चार जनामा पनि संक्रमण देखियो।
कोटेश्वरकै असर्फी गल्लीमा पनि एकै घरका नौ जनामा कोरोना पुष्टि भएको छ। बिहीबारसम्म सो गल्लीका ३९ जनामा कोरोना पुष्टि भइसकेको छ।
सो क्षेत्रकी जनस्वास्थ्य अधिकृत मैयाँ सैजुका अनुसार सुरुमा बाहिरबाट आएका मानिसहरुमा संक्रमण देखिएपनि अहिले परिवारका सदस्यहरुमा स्थानीय संक्रमण फैलिएको पाइएको छ।
‘धेरै परिवारको एउटै बाथरुम हुन्छ। एउटै सामग्रीहरु प्रयोग हुन्छ। परिवारको एकजनालाई संक्रमण देखिएर कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अरु ७–८ जनासम्म पनि संक्रमण देखिएको छ,’ उनले भनिन्।
यस्तै कोरोनाका कारण बढी प्रभावित काठमाडौंको अर्को क्षेत्र वडा नम्बर २७ स्थित भोटाहिटी, महाबौद्ध क्षेत्रमा पनि परिवारका एक सदस्यलाई भेटिएपछि परिवारमा परीक्षण गर्दा अरु सदस्यलाई पनि कोरोना पुष्टि भएको छ।
वडासदस्य नरेशमान महर्जनका अनुसार उक्त क्षेत्रमा ९ परिवारका ३७ जना सदस्यमा कोरोना पुष्टि भइसकेको छ।
महाबौद्ध क्षेत्रमा भारतको सितामढीबाट आएका एकै परिवारका पाँच जनामै कोरोना पुष्टि भएको थियो। यस्तै भोटाहिटीमा व्यापार गरी बस्ने एक महिलालाई पुष्टि हुँदा उनको परिवारका ६ जनालाई नै संक्रमण देखिएको महर्जनले बताए।
‘भोटाहिटी, महाबौद्ध क्षेत्रमा एक दर्जन व्यक्तिका परिवारमा संक्रमण भेटिएको छ,’ महर्जनले भने, ‘व्यापारी, स्वास्थ्यकर्मी, कामदार लगायतलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य सदस्यलाई पनि देखियो। संक्रमित परिवारको एक सदस्यको निधन पनि भइसकेको छ।’
यस्तै बालाजुमा एकै परिवारका चार जना, महाराजगञ्जमा आठ जना, बानेश्वरमा ९ जना, कोटाल टोलमा ५ जना, वडानम्बर ४ को मृत्यु भएका एक संक्रमितको घरका चार जनामा कोरोना संक्रमण देखिइसकेको छ।
काठमाडौं महानगरपालिकाका कोरोना फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार महानगरमा परिवारभित्रैै संक्रमण फैलिएको थुप्रै घटना छन।
‘यकिन तथ्यांक त छैन तर परिवारभित्रै संक्रमणको दर बढ्दै गएको छ,’ उनले भने, ‘लक्षण देखिएका संक्रमितको परिवारमा लगभग सबैमा संक्रमण देखिएको छ। सुरुमै थाहा पाएर आइसोलेसनमा राख्न सकिएन भने अन्य परिवारमा पनि संक्रमण बढ्दै जाने जोखिम देखिएको छ।’
परिवारका सदस्यबाट अन्य सदस्य र समाजमा संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले परिवारका सदस्यलाई संक्रमित नगराउन सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने बताए।
‘हामी जानी वा नजानी संक्रमण भित्र्याउनमा जिम्मेवार रहन्छौं। अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनु भएन, भीडभाडमा जानुभएन, कार्यालय वा काम गर्ने स्थानमा दूरी कायम गरी काम गर्नुपर्यो,’ उनले भने, ‘घर प्रवेश गर्दा नियमित हात राम्ररी साबुनपानीले धुनुपर्छ। वृद्धवुद्धाहरुको नजिकै नजाने, कोठाभित्र प्रकाश आउने, हावा ओहोरदोहोर हुने वातावरण मिलाउनु पर्छ।’
उनले आफ्नो साथीभाई, आफन्त र चिनजानका मानिसमा भाइरस संक्रमण छैन भनेर मान्नु नहुने बताए। म बाहेक अरुलाई संक्रमण हुनसक्छ भन्ने आशंकासहित आफन्त, साथीभाईसँग भेट्दा पनि अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने व्यवहार नगरे ठूलो खतरा निम्तनसक्ने उनको चेतावनी छ।
‘घरमा पाहुना बोलाउने तथा आफूपनि पाहुना जाने जस्ता क्रियाकलापले संकट बढाएको छ। त्यस्तो गर्नेलाई टोल छिमेकले पनि सचेत गराउँनुपर्छ,’ उनले भने, ‘पछिल्लो समय काठमाडौंलगायत घनावस्तीमा संक्रमण बढी छ। आफू र आफन्त जोगाउन आफै जिम्मेवार बन्नुपर्छ।’
यो पनि
संक्रमितको उपचार : दिनकै ८–१० वटा प्लाज्मा माग, एउटै पुर्याउन मुस्किल
Shares
प्रतिक्रिया