समाज


पाँच दिनदेखि बेपत्ता ४ किशोर-किशोरी ‘विश्वकै लामो’ पुल हेर्न पो गएका रहेछन् !

पाँच दिनदेखि बेपत्ता ४ किशोर-किशोरी ‘विश्वकै लामो’ पुल हेर्न पो गएका रहेछन् !

नेपालखबर
भदौ ११, २०७७ बिहिबार २:५८,

मानिसको सोच, इच्छा पनि अनेक हुन्छन्। र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पूरा गर्छन्।

त्यही हुटहुटीमा थिए- बागलुङको निसीखोला गाउँपालिका-३ धाराखर्कका तीन किशोरी र एक किशोर। यसै क्रममा तीजका दिन घर छोडेका उनीहरू हराएको खबर भाइरल भयो।

निसीखोला वडा नम्बर-७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका ८ किशाेर-किशाेरीमध्ये ४ जना साँझ घर फर्के। तर १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु सिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली फर्केनन्। 

परिवारले उनीहरूकाे खोजी गर्न अनुराेध गर्दै झिवाखोला प्रहरी कार्यालयमा निवेदनसमेत दियो। हराएको भनिएको ५ दिनपछि उनीहरू बागलुङ बजारमा फेला परे।

वास्तवमा उनीहरू हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न त्यहाँ पुगेको पत्ता लाग्याे।

बागलुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका ८ किशाेर-किशाेरीमध्ये ४ जना निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए। त्यहाँकाे सुन पसलमा तीन किशाेरीमध्ये २ जनाले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइएकाे रेग्मीले बताए। 

‘घाँटीमा लगाएको दुईवटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो,’ रेग्मीले भने, ‘बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरूले लामो पुल अवलोकनसमेत गरेका रहेछन्।’

कालिका मन्दिरसमेत घुम्न गएका उनीहरूलाई प्रहरीले फर्काएको थियो। पैसा र बासको अभावमा घर फर्किन नसकेका उनीहरूलाई प्रहरीले यही भदौ १० गते बागलुङ बजारमा फेला पारेको हो।

बागलुङ बजारमा लागू निषेधाज्ञाका कारण उनीहरू घर फर्किन नपाएकाे हुन सक्ने परिवारका सदस्य बताउँछन्। घरबाट घुम्न भनेर निस्केका चारै जना सम्पर्कविहीन भएका उनीहरू घुम्न गएकाे अवस्थामा भेटिएको खबर पाउँदा ज्यादै खुसी लागेको श्यामु सिर्पालीका बुबा कोकबहादुर विकले बताए।

‘हामी त तनावमा थियौं, कसैले अपहरण, केही गर्‍यो कि भनेर डराएका पनि थियौं,’ उनले भने, ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० बाेकेर निस्केका रहेछन्।’

सिर्पालीका बुबाका अनुसार प्रहरीले उनीहरूलाई बागलुङ बजारमा फेला पारी बुर्तिवाङ लगेर परिवारको जिम्मा लगाइदिएको छ।

उनका अनुसार उनीहरू बुर्तिवाङ बजारमा चाँदीका दुईवटा सिक्री ३ हजार रुपैयाँमा बिक्री गरी लामो पुल हेर्न १० किलाेमिटर पैदल र ९० किलोमिटर गाडीमा यात्रा गरी बागलुङ बजार आएका रहेछन्। 

सामाजिक सञ्जालमा विश्वकै लामाे भनेर रामरेखा अदुवाबारी पुलका विषयमा चर्चा भएपछि उनीहरू परिवारलाई खबर नगरी हेर्न हिँडेका रहेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad