समाज


गोंगबु हत्यामा किशोरीको बयान: फोहोर भन्ठानेर लास फाल्न सघाएँ, तर यस्तो छ अनुसन्धानको निष्कर्ष

गोंगबु हत्यामा किशोरीको बयान: फोहोर भन्ठानेर लास फाल्न सघाएँ, तर यस्तो छ अनुसन्धानको निष्कर्ष

उजिर कार्की
भदौ २३, २०७७ मंगलबार १०:२५,

गत साउन २४ गते राति गोंगबुमा रोल्पाका कृष्णबहादुर बोहोराको हत्या भयो। हत्या गरेको अभियोगमा कल्पना मुडभरी र उनकी १५ वर्षीया छोरी पुर्पक्षका लागि थुनामा छन्।

काठमाडौ जिल्ला अदालतले आमालाई केन्द्रीय कारागार पठाएको छ। उमेर सानै भएको कारण छोरीलाई बाल सुधारगृह पठाइएको छ। कल्पनाले कृष्णबहादुरको हत्या आफूले मात्रै गरेको बताएकी छिन्। तर, शव सडकमा फाल्न छोरीलाई पनि लगेका कारण छोरीलाई पनि प्रहरीले प्रतिवादी बनाएको छ।

घटनामा १५ वर्ष १० महिना २३ दिनकी ती किशोरीको पनि संलग्नता रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

साउन २४ गते साँझ कृष्णबहादुरसँग कल्पना र उनकी छोरीको झगडा भएको थियो। कल्पनाकै कोठामा मासु, चिउरा र भोड्का खाँदै गर्दा झगडा भएको थियो। त्यसपछि कल्पनाले कृष्णबहादुरको ज्यान मार्ने योजना बनाएकी थिइन्।

कल्पनाले लट्ठ हुने औषधि, दही, हतियार, झोला सुटकेस समेत तयार गर्दा उनकी छोरीले कुनै प्रतिक्रिया नजनाई बसेको आरोप प्रहरीले लगाएको छ।

‘सँगै रहेको ओल्लो पल्लो कोठामा बसेर पनि दाउले मृतकको घाँटी तथा खुट्टाहरु छिनाल्ने गरी प्रहार गर्दा र कोठामा रगतको अवस्था देखिँदा समेत कुनै प्रतिक्रिया जनाइनन्,’ अनुसन्धानको निष्कर्ष छ, ‘साँझ आफ्नो कोठामा आई रक्सी समेत सेवन गरेको अवस्थामा दहीमा स्लिपिङ ट्याप्लेट मिसाई खुवाई हिँडडुल गर्न सक्ने अवस्थामा नभई लम्पसार लडेको मानिस कोठामा नदेखिएको, कोठामा रहेको म्याटमा समेतमा रगत देखिएको, कपडा राख्न प्रयोग गरेको सुटकेसमा निज कृष्णबहादुर बोहोराको लास हुन सक्ने अवस्थाको बारेमा सहजरुपमा थाहा जानकारी पाउन सक्ने अवस्था हुदाँहुँदै एवं सोको जानकार भएर पनि कुनै प्रतिक्रिया नजनाएको।’

यस्तै कल्पनाको योजनालाई सफल गराउन ती किशोरीले सहयोग गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ।

रगत बगिरहेको सुटकेस बाथरुममा राखिएको थियो। गह्रौँ सुटकेस आमालाई बोक्न धकेलिदिएर उनले सहयोग गरेकी थिइन्।

लास फाल्न जाँदा बाहिर पानी परेको थियो। घरको तेस्रो तलादेखि आमा कल्पनालाई छाता ओढाउँदै घरदेखि करिब २ सय मिटर टाढा सडकसम्म पुगी सडक किनारामै लाससहितको सुटकेस फालिएको थियो।

त्यसपछि सँगै घरमा आएर बसेका थिए।

भोलिपल्ट बिहान स्थानीयले सुटकेसमा लास फेला पारेका थिए।

प्रहरी र स्थानीयले हल्लाखल्ला खोजखबर गर्दा समेत किशोरीले कुनै प्रक्रिया नजनाउनुलाई प्रहरीले उनको दोष मानेको छ।

‘आमासँगै चितवन भागेका कारण पनि नियतपूर्वक ज्यान मार्ने कार्यमा मतियार भई मुलुकी अपराध संहिता २०७४ को दफा ३६ को उपदफा ९१० र ९२० बमोजिमको कसूर गरेको तथ्य पुष्टि हुन आयो,’ प्रहरीले अनुसन्धान प्रतिवेदनमा भनेको छ।

तर किशोरीले भने आफूले शव हो भन्ने कुरा भोलिपल्ट मात्रै थाहा पाएको बयान दिएकी छन्। उनले घटना हुनुभन्दा दुई दिनपहिले पनि डेरामा आएका कृष्णबहादुर एकैछिन बसेर फर्किएको बताएकी छन्।

कल्पनाको परिवार सो घरमा मासिक ११ हजार रुपैयाँ भाडा तिरेर २०७२ सालदेखि बस्दै आएको थियो।

यस्तो छ किशोरीको बयानः
कृष्णबहादुर बोहोरा हाम्रो कोठामा रुस्लान भोड्का लिएर आउँदा म र भाइ एटेच रुममा बसी गफ गरिरहेका थियौं। आमा किचनमा कुखुराको मासु पकाउँदै थिइन्। निज कोठा भित्र आई सोही एटेच रुममा बसी साथमा ल्याएको रुस्लान भोड्का ग्लासमा हाली पिउँदै थिए। चिप्स, काँक्रो कृष्णबहादुरले नै साथमा लिई आएका थिए। मेरो आमाले निजलाई किचनबाट मासु, चिउरा दिई हामी सबै जना भई सँगै खाएको हो।

निज कृष्णबहादुर बोहोराले खाने क्रममा जथाभावी बोल्दै गरेका थिए। मेरो भाइ आफ्नो खाना लिई टीभी रुममा गएको र मेरो आमा कल्पना मुडवरी पनि किचनतिर गएको समयमा निज कृष्णबहादुर बोहोरासँग किन बसेको भनी वाद–विवाद भयो। त्यसपछि आमाले मलाई टिभी रुममा टीभी हेर्दै बस् भनी पठाइन्।

म टीभी रुममा गएर सुतेँ। आमाले २÷४ दिन अगाडिदेखि नै चितवन जानुपर्छ भन्दै आएकी थिइन्। घटना भएको दिन रातको अन्दाजी २ः४५ बजे तिर मेरो आमा म सुतेको कोठामा आई फोहोर फाल्न जानु छ, छिटो उठ् भनी उठाइन्।

रातको समयमा मलाई किन उठाएको भनी सोध्दा म एक्लै भएकोले फोहर फाल्न जाऊँ भनिन्। म उठी आमा र म समेत एटेच रुममा गई बाथरुम भित्र भएको लास रहेको सुटकेस आमाले नाम्लो लिई आई धकेल्देउ भनेकोले मैले सुटकेस धकेली दिएको हुँ।

बाहिर पानी परिरहेकोले मैले आमालाई छाता ओढाई कोठाभन्दा पश्चिमतर्फ केही परसम्म लगी सडक किनारामा सुटकेस फाली कोठामा हामी दुवै जना आमाछोरी आई सुतेको हो। भोलिपल्ट, राति आएको मानिस कृष्णबहादुर बोहोराको लास रहेछ भन्ने जानकारी भएको हो। निजको हत्या गर्ने योजना आमा कल्पना मुडवरीले नै बनाउनु भएको हो।

मैले आमालाई कृष्णबहादुर बोहोराको लास रहेको सुटकेस बोक्न धकेली दिई बोक्न लगाई बाहिर पानी परिरहेकाले आमालाई छाता ओढाई सडक किनारामा लगी लास रहेको सुटकेस फालेको हो। त्यसपछि आमाले एम्बुलेन्स बोलाएपछि भोलिपल्ट हामी चितवन मामाघर गएका हौं। २६ गते साँझको समयमा प्रहरीले म समेतलाई पक्राउ गरी काठमाडौं ल्याएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad