समाज


सार्वजनिक यातायात तत्काल सञ्चालन गर्ने अवस्था छैन

सार्वजनिक यातायात तत्काल सञ्चालन गर्ने अवस्था छैन

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १५:१६,

उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ। फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्न सुझाव दिएको छ।

काठमाडौँ उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न पनि बैठकले माग गरेको छ। फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यका भित्रको जनजीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भएपनि कडाई गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने बताए। महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका दृष्टिबाट जनजीवन असहज बन्न थालेपछि यस्तो निर्णय गरेको ललितपुरका महानगरका प्रमुख महर्जनले बताए।

फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘भदौ २५ गतेबाट उपत्यका प्रवेशका सबै प्रवेश विन्दुमा कडाई गरी जोखिम न्यूनिकरणलाई ध्यानमा राखी सुरक्षा सतर्कतासाथ स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा गर्ने–गराउने गरी निषेधाज्ञा खुकुलो गर्दै जाने निर्णय गरेका छौँ।’

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधिमा उपत्यकामा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको पनि जानकारी दिइएको थियो। पाँच हजार बेडको क्वारेन्टिन र ६ हजार बेडको आइसोलेशन बनाउने ठाउँ पहिचान भएको पनि सो अवसरमा जानकारी दिइयो। निषेधााज्ञासँगै रोकिएको स्थानीय तहको सेवा भदौ २५ देखि नियमित गर्ने निणय बैठकले गरेको छ।

नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि पटक–पटक उपत्यका प्रवेश नाकामा कडाई गर्न र उपत्यका भित्रको जनजीवन भने सहज बनाउन माग गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad