जिल्लाको उत्तरपश्चिमी भेगको ‘लाइफ लाइन’ साँखु –फट्केश्वर सडक कालोपत्रे हुने भएको छ।
उक्त सडक काठमाडौँ जिल्लाको शङ्खरापुर नगरपालिकाका साँखु, जहरसिंह पौवा, नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भई पुष्पलाल मध्यपहाडी लोकमार्गको बाहुनीपाटीमा गएर जोडिन्छ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पूर्वमन्त्री शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, शङ्खरापुरका प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधि र सरोकार पक्षको विशेष पहलमा कालोपत्रे हुन लागेको हो।
सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु गाउंँपालिका, पाँचपोखरी थाङ्पाल गाउंँपालिका र इन्द्रावती गाउँपालिकाको प्रवेशमार्गका रुपमा रहेको सो सडक कालोपत्र गर्नका लागि लामो समयदेखिको मेहनत सफल भएको जनप्रतिनिधिले जनाएका छन्। भविष्यमा काठमाडौंँ र सिन्धुपाल्चोकको उत्तरपश्चिमी भेगका जनताले ठूलो राहत पाउने सांसद तामाङले बताए।
शंखरापुरका प्रमुख श्रेष्ठले दोस्रो चरणको बोलपत्र प्रक्रिया अगाडि बढिरहेको जनाउँदै करीब रु ३१ करोड बजेट व्यवस्थापन भई केही दिनभित्रै खुल्ने बताए। हाल सो सडकखण्ड अन्तर्गत काठमाडौँको जहरसिं पौवादेखि सिन्धुपाल्चोकको फट्केश्वर सडकखण्डको करिब पाँच किमी सडक कालोपत्रका लागि गत महिना बोलपत्र भई कम्पनीका तर्फबाट निर्माणपूर्वको विस्तृत सर्भे भइरहेको छ।
आगामी असोज १० गतेदेखि निर्माण शुरु गरिने निर्माण कम्पनी मञ्डनभगवती रतुवाकमलजित निर्माण सेवाका प्रतिनिधि हीरा चौलागाईंँले बताए। रासस

प्रतिक्रिया