समाज


नेपाली भाषा–संस्कृतिका गहन अध्येता अमेरिकी विद्वान रिकार्डीकाे निधन

नेपाली भाषा–संस्कृतिका गहन अध्येता अमेरिकी विद्वान रिकार्डीकाे निधन

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ११:७,

सन १९६८ को अन्तिमतिर कोलम्बिया विश्वविद्यालयका प्राध्यापक टेड रिकार्डी नेपाल भ्रमणमा आए।

काठमाडौंको छाउनीमा बस्ने उनी काठमाडौंका गल्ली गल्ली चहार्दै यहाँका भाषा, संस्कृति, रहनसहन र नेवार समुदायको जात्रा, पर्वबारे गहन अध्ययन गर्न थाले।

नेपाली भाषामा प्रयोग हुने ‘क्यारे’ र ‘ब्यारे’ को शब्द र अर्थ उच्चारण फरक रहेको पहिल्याउने उनी यी शब्दको मिठासबारे सधैँ चर्चा गर्थे। यस्तै विशेषताका कारण नेपाली भाषाको विशिष्ट पहिचान रहेको बताउँथे।

नेपाली समाज र सम्पदाबारेका ती विज्ञ प्राध्यापक टेड रिकार्डीको निधन भएको छ।

मानवशास्त्री रिकार्डीको मंगलबार अपरान्ह अमेरिकी शहर न्युयोर्कमा ८३ वर्षकाे उमेरमा निधन भएको हो।

कोलम्बिया विश्वविद्यालयका प्रा.रिकार्डी नेपाली समाज र सम्पदाबारे गहन अनुसन्धाता थिए।

‘रिकार्डी पूरै हिमालय क्षेत्र ढाक्ने हिमालयनिस्ट’ रहेको पत्रकार तथा लेखक कनकमणि दीक्षित बताउँछन्।

उनी दक्षिण एसियाली र हिमाली क्षेत्रबारे गहन अध्ययन गरेका मानवशास्त्री र भाषाविद् थिए।

उनको दख्खल नेपाली, हिन्दी र बंगालीमा पनि थियो। तर, उनी नेपालसँग बढी परिचित भए र नेपालकै अनुसन्धाता, अध्येता बने।

काठमाडौंका सानातिना कुरा पनि उनलाई थाहा थियो।

उतिबेला सीडीको जमाना थियो, रिकार्डी पाश्चात्य संगीतका पारखी थिए।

‘काठमाडौंमा पुरानो पाश्चात्य शास्त्रीय संगीतको सीडी कहाँकहाँ पाइन्छ? कुन पसल कुन गल्लीमा छ, रिकार्डीलाई थाहा थियो,’ दीक्षित सम्झन्छन्।

पियानो बाधक उनलाई काठमाडौंमा कहाँ कहाँ पियानो बजाउन पाइन्छ भन्ने थाहा थियो र ती ठाउँमा बजाउन गइरहन्थे।

अध्ययनकै क्रममा नेपालमा आठ वर्षजति बसेका रिकार्डीलाई नेपालको माया गहिरो थियो।

‘अन्तर्राष्ट्रिय स्तरका विज्ञहरु भारतमाथि आँखा लगाउँछन्। ठूलठूला देशप्रति आकर्षित हुन्छन्, अनि नेपाललाई अपहेलित गर्छन,’ दीक्षितले रिकार्डीबारे स्मरण गर्दै नेपालखबरसँग भने, ‘तर, अन्तर्राष्ट्रिय स्तरका स्कलर रिकार्डीको मन भने नेपालमै बस्यो। नेपाली भाषा र संस्कृतिबारे कोहीसँग पनि मुकाबिला गर्नसक्ने क्षमता भएका विज्ञ हुन् उनी।’

उनले काठमाडौंका ऐतिहासिक महत्वका मुर्ति चोरीबारे पनि अध्ययन गरेको र प्राग ऐतिहासिक उत्खनन् समेत गरेको दीक्षित सुनाउँछन्।

उनले मोहनप्रसाद खनालसँग मिलेर चाँगुनारायणमा उत्खनन् गरेका थिए। इतिहासमा वर्णन गरिएको चाँगुनारायण र त्यस वरपरका समुदाय, त्यहाँ रहेका भाँडाकुँडा, ढुङ्गामाटो र इट्टाहरुको उत्खनन् गर्ने काम पनि रिकार्डीले गरेका हुन्।

त्यसपछि उनले नेपालको मूर्ति चोरीको बारेमा विशेष अध्ययन गरेका मात्र थिएनन्, चोरीमा संलग्न रहेकाहरुबारे समेत धेरै खोतलेका थिए।

नेपाल आउने विदेशी, नेपालमै रहेका कुटनीतिज्ञ, नेपालका धनीमानिहरु, ठूलाबडाहरु र म्युजियमका कर्मचारी समेत नेपालका प्राचिन तथा ऐतिहासिक मूर्ति चोरीमा संलग्न रहने गरेको रहस्यहरु बुझ्दै गएपछि रिकार्डी निकै आक्रोसित हुने गरेको दीक्षितले बताए।

नेपाली भाषाको मिहिन अध्ययन गरेका उनले यो भाषाको मिठासबारे चर्चा गरिरहन्थे।

उनले मानदेवको शिलालेखलाई संसारसामु पुर्‍याए।

नेपाल अनुसन्धान गर्ने धेरै विज्ञहरुले रिकार्डीबाट ठूलो साथसहयोग पाएको दीक्षितको ठहर छ।

कोलम्बिया विश्वविद्यालयको दक्षिण एसिया विभागका निर्देशक थिए उनी।

न्युयोर्कमा वेवारिसे परेको विपि कोइरालाको एउटा मूर्तिको संरक्षण उनैले गरे।

इटली–नेवारी डिक्सनरी बाहिर ल्याउन पनि उनले मद्दत गरेका थिए।

रिकार्डी सन १९३७ मा जन्मिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad