सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान गएको ६ रेक्टर स्केलको भूकम्पले अहिलेसम्म जिल्लामा त्यस्तो कुनै अप्रिय घटना भएको खबर प्राप्त नभएको त्यहाँका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्।
‘अप्रिय रिपोर्टिङ अहिलेसम्म छैन, हामीले सबैतिर बुझ्न लगाएका छौं, सुरक्षाकर्मी परिचालन गरेका छौं,’ बुधबार बिहान साढे ७ बजे सीडीओ ढकालले नेपालखबरसँग भने, ‘भागदौड गर्दा कसैलाई सानातिना चोटपटक लागेको भए बेग्लै कुरा, नत्र अहिलेसम्म त्यस्तो अप्रिय खबर आएको छैन।’
तर रातभर पानी परेको र त्यहीमाथि भूकम्प गएकाले पहिरोको जोखिम भने झन् बढेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
उनका अनुसार आज भूकम्प गएको केन्द्रबिन्दु राम्चे अस्ति भर्खर पहिरो गएको स्थान र जुरे पहिरोको ठीक बीचमा पर्छ।
‘७२ सालको भूकम्पले समस्या ल्याएको थियो, अहिले फेरि जोखिम एरियामै भूकम्पको केन्द्रबिन्दु छ, अस्ति गएको पहिरो र जुरेको पहिरोको बीचमै पर्छ,’ उनले भने।
यसले गर्दा पहिरोको जोखिम झन् बढेकाे उनले बताए।
त्यस्तो जोखिममा थुप्रै वस्ती रहे पनि सार्ने ठाउँ भने कतै नभएको पनि उनले बताए।
‘जोखिममा रहेका वस्ती थुप्रै छन्, बाह्रबिसेमा मात्रै १२-१५ वस्ती जाेखिममा छन्,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘कहाँ सार्ने, सार्ने ठाउँ नै छैन, सबैलाई अत्यन्त सुरक्षित भएर बस्न भनेका छौं, अलर्ट भएर रहन भनेका छौं।’
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले पनि अहिलेसम्म कतैबाट त्यस्तो अप्रिय खबर नआएको बताए।
डीएसपी सापकोटाका अनुसार आज बिहान गएको भूकम्पको केन्द्रबिन्दु राम्चे, बाह्रबिसे नगरपालिका वडा नम्बर ९ मा पर्छ।
‘म त भूकम्पकाे केन्द्रबिन्दु (राम्चे) नजिकै बाह्रबिसे (इलाका प्रहरी कार्यालय) मा थिएँ, ’ नेपालखबरसँग उनले भने, ‘बेस्सरी हल्लायो, भर्खर बनेका पक्की घर ढल्लैजस्तो गरी हल्लायो, तर यता त्यस्तो क्षति केही भएको छैन।’
उनका अनुसार आइतबार बाह्रबिसेकै वडा नम्बर ७ मा गएकाे पहिराेमा हराइरहेकाहरूकाे खाेजतलासका क्रममा उनी बाह्रबिसे इलाका प्रहरी कार्यालय पुगेका हुन्। पहिराेमा पुरिएकामध्ये अहिलेसम्म १५ जनाकाे शव भेटिएकाे उनले बताए। त्यसमा ९ महिला र ६ पुरुष छन्। अझै १६ जना बेपत्ता रहेकाे र खाेजी भइरहेकाे उनले जानकारी दिए।
डीएसपी सापकाेटाका अनुसार आज गएकाे भूकम्पकाे केन्द्रबिन्दु राम्चे, बाह्रबिसे इलाका प्रहरी कार्यालयबाट एक किलोमिटरजति मात्र पर पर्छ। भूकम्प गएका बेला बिहान मानिसकाे भागाभाग भएकाे उनले बताए।
डीएसपी सापकाेटाले भने, ‘हामीले यहाँका वडाध्यक्ष, जनप्रतिनिधि र दुई चार जना स्थानीय बासिन्दासँग बुझ्यौं, त्यस्तो कुनै क्षति भएको पाइएको छैन।’
लगभग जिल्लाभरि नै बुझिएको र कुनै अप्रिय खबर नरहेको उनको भनाइ छ।
याे पनि :

प्रतिक्रिया