समाज


चितवनमा विभिन्न घटनामा तीन जनाको मृत्यु

चितवनमा विभिन्न घटनामा तीन जनाको मृत्यु

नेपालखबर
असोज ३, २०७७ शनिबार ४:४७,

जिल्लाका विभिन्न घटनामा शनिबार तीन जनाको मृत्यु भएको छ।

कोरोनाको संक्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना संक्रमणका कारण आज बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिला रहेकी छन्।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भदौ २८ गते भर्ना भएकी उनमा २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनकोे आज बिहान ६ः१५ बजे मृत्यु भएको हो ।

यस्तै पिकअप भ्यानको ठक्करले एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ गीतानगरबाट सिताराम चोकतर्फ आइरहेको लु १ च ४४३५ नम्बरको भ्यानले प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ३७ वर्षीय ज्योती दराई रहेको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो। दराईलाई ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

यता सर्पले डसेर एक जनाको मृत्यु भएको छ भने दुई जना उपचारका क्रममा रहेका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो। सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको अवस्था गम्भीर रहेको छ। उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad