काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय नाघेकाे छ।
आइतबार २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कूल सङ्ख्या ८ सय २५ पुगेको हो।
वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन्। वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन्।
कोरोना सङ्क्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। तीमध्ये पाँच जना अहिलेसम्म सम्पर्कविहीन छन्।
टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। वडा नं ४, ६ र ९ मा एक/एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताए। काठमाडौँ महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको नगरपालिका टोखा हो।
टोखा नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ। नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए।
नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गरेको छ। नगरपालिकाले यसअघि नै कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३५० रुपैयाँ भत्ता दिने निर्णयसमेत गरिसकेको छ। नगरपालिकाले कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला दिने गरेकाे छ।
नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोङ्गबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए। रासस
Shares

प्रतिक्रिया