समाज


चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा पाँच गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा  दुई महिनामा पाँच गैँडा मरे

नेपालखबर
असोज १८, २०७७ आइतबार ५:४४,

चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन्।

चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्ज प्रशासनले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुईरदुईवटा गैँडा मरेका हुन्। भदौमा मरेको दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा यो आव शुरु भएपछि साउन १७ गते पहिलो गैँडा मृत फेला पारेको थियो। त्यसपछि भदौ ६ मा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो। रामका अनुसार ती दुवै मृत फेला परेका गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका अनुमान गरिएको छ।

त्यस्तै निकुञ्जभित्र भदौ २१ गते पनि मृत गैँडा भेटिएको थियो। त्यो गैँडा भने कालगतिले नमरेको रामले बताए।

भदौ १६ गते निकुञ्जमा गोली पड्केको आवाज सुनिएको थियो। त्यसपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोलीले २१ भदौमा बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पारेको रामले जानकारी दिए।

मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको भए पनि टाउकोमा गोली लागेको घाउ थियो। टाउकोमा गोलीको घाउ देखिएको मृत गैँडाको परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले बताए।

त्यस्तै असोज १६ र १७ गते गरी दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन्। असोज १६ गते शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत अवस्थामा फेला परेको हो।

शुक्रबार भेटिएको मृत गैँडा करिब दुई महिनाअघि नै मरेका हुनसक्ने अनुमान गरिएको छ । सडेको अवस्थामा भेटिएको उक्त गैँडाको पनि खाग र खुर सुरक्षित रहेको रामले बताए।

त्यस्तै शनिबार पनि नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ । गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पु¥याएको हुनसक्ने निकुञ्ज प्रशासनको अनुमान छ।

निकुञ्जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैँडा त्रिवेणी क्षेत्रमा छन् । ती बग्दै गएका गैँडाहरु कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्जले जनाएको छ।

दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज हो। सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा छन्। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा भेटिएका थिए । पहिलो गैँडा गणनापश्चात निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन्।

निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन् । त्यस्तै २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए भने चालू आव २०७७/७८ मा पाँचवटा गैँडा मरिसकेका छन्।

चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष गैँडा गणना गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण गणना प्रभावित भएको छ। गत वर्ष हुननसकेको गैँडा गणना यस वर्ष हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

त्यस्तै निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको बरालको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad