समाज


आगामी साताबाट मनसुन सकिने सम्भावना, त्यसअघिसम्म कस्तो रहला मौसम?

आगामी साताबाट मनसुन सकिने सम्भावना, त्यसअघिसम्म कस्तो रहला मौसम?

नेपालखबर
असोज १९, २०७७ सोमबार २:३१,

मनसुन अर्थात् धेरै वर्षा गराउने मौसमी प्रणाली आगामी साताबाट नेपालको पूरै भूभागबाट बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालको सदूरपश्चिमदेखि ५ नम्बर प्रदेशको पश्चिमी भागसम्म गत बिहीबारदेखि नै मनसुन हटिसकेको भए पनि त्यसयता पूर्व प्रदेश १ सम्म अझै हटेको छैन।

उनका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून न्यन चापीय क्षेत्रको प्रभावले ५ नम्बर प्रदेशदेखि पूर्वका क्षेत्रमा मनसुनी गतिवधि (मौसम बदली, हल्का वर्षा) जारी नै रहेको हो।

‘तर अब आउने सातासम्म नेपालबाट मनसुन पूरै बाहिरिने अनुमान गरेका छौं,’ मौसमविद् श्रेष्ठले सोमबार बिहान नेपालखबरसँग भने।

उनका अनुसार मनसुन सकिएपछि औपचारिक रूपमा वर्षायामको अन्त्य हुन्छ र हिउँद सुरु हुन्छ।

हुन त सामान्य मितिबमोजिम नेपालबाट मनसुन गत सेप्टेम्बर २७ मै बाहिरिइसक्नुपर्ने हो। तर भनेकै मितिमा बाहिरिँदैन। केही दिन तलमाथि पर्छ। 

मौसमविद्का अनुसार केही वर्षयता मनसुनको अवधि लम्बिएको छ। यस वर्ष त झन् मनसुन बाहिरिने भनिएको मिति सेप्टेम्बर २७ आसपास चार पाँच दिन देशभर ठूलो वर्षा भएको थियो।

माैसम पूर्वानुमान महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम अनुमान :
असोज १९ गते सोमबार
दिउँसो : प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २० गते मंगलबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २१ गते बुधबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad