नेपाल पत्रकार महासंघले सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धिमालले पत्रकारलाई समाचार संकलनमा रोक लगाएको र दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सम्वाददाता अवधेशकुमार झालाई दुर्व्यवहार गरिएको महासंघले जनाएको छ।
पछिल्लो समय सप्तरीमा बलात्कार र महिला हिंसाको घटना वृद्धि भएसँगै यस्ता घटना रोकथाम तथा घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग राख्दै आज सप्तरीका महिला अधिकारकर्मी र महिला जनप्रतिनिधिहरूद्वारा जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा ‘डेलिगेसन’ गएका थिए। सोही विषयमा समाचार संकलनका लागि पुगेका केन्द्रीय सदस्य झालाई प्रहरी उपरीक्षक धिमालद्वारा अपमानपूर्ण ढंगबाट समाचार संकलनमा रोक लगाउँदै बाहिर निकालेका महासंघकाे भनाई छ।
‘राज्यको सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीको जिम्मेवार अधिकारीबाट पत्रकारलाई यस किसिमले अपमान गर्दै समाचार संकलनमा रोग लगाएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ज्यादती र हस्तक्षेप हो’ महासंघले सोमबार विज्ञप्ति निकालेर भनेको छ, ‘महासंघ प्रहरीको यो ज्यादती कडा शब्दमा भर्त्सना गर्दछ। र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया