समाज


हराएको चार वर्षपछि भेटियो चन्दननाथको बहुमूल्य दाहिने शंख

हराएको चार वर्षपछि भेटियो चन्दननाथको बहुमूल्य दाहिने शंख

नेपालखबर
असोज २२, २०७७ बिहिबार ५:५७,

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको बहुमूल्य दाहिने शंख भेटिएको छ।

विसं २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शंख भेटाएको हो। तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

‘मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शंख लुकाएको स्थान पत्ता लगायौँ’, प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईबरको क्वालिटी रंगको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शंख भेटाएका छौँ।’ अनुसन्धान प्रक्रियालाई घनीभूत ढंगले अघि बढाइएको उनले बताए।

तीन दिनअघि पक्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद बिष्टसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यो घटनाबाट चार वर्षअघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ।

यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेबारिसे अवस्थमा भेटिएका थिए। विसं २०७३ मंसिर ११ गते चन्दननाथ मन्दिरबाट एक दाहिने शंखसहित २१ थान मूर्ति चोरी भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad