समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या कति? मिलेन सेना र मन्त्रालयको तथ्यांक

कोरोनाबाट ज्यान गुमाउनेको संख्या कति? मिलेन सेना र मन्त्रालयको तथ्यांक

यज्ञराज जोशी
कात्तिक २, २०७७ आइतबार १३:४६,

गत जेठ १२ गते बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालोई दिएको थियो। सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापनसम्बन्धी मापदण्डबमोजिम स्थानीय प्रशासनको समन्वयनमा यो काम गर्नुपर्ने थियो।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले असोज ३० गते कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको शव व्यवस्थापनको विवरण सार्वजनिक गरे।

सो विवरणअनुसार असोज ३०सम्म सेनाले ८ सय ८९ जना कोरोना भाइरस संक्रमितहरुको शव व्यवस्थापन गरिसकेको छ। अर्थात् सो मितिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८९ पुगेको थियो।

तर सेनाको यो तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मृतक तथ्यांकसँग भने मेल खाँदैन।

मन्त्रालयका अनुसार असोज ३० सम्म नेपालमा ७ सय १५ जनामात्रै कोरोना संक्रमितको मृत्यु भएको छ। अर्थात् मन्त्रालयको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या सेनाले भनेको भन्दा १ सय ७४ जना कम छ।

नेपाली सेनाको तथ्यांकबारे प्रवक्ता पौडेल आफ्ना पृतनाहरुमा सूचना जिम्मेवारी पाएका व्यक्तिहरुले शव व्यवस्थापनपछि उपलब्ध गराएको नाम, नम्बर लगायतको विवरणका आधारमा तयार भएको बताउँछन्।

‘कोभिड १९ पुष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समिति वा स्थानीय अधिकारीको अनुरोधपछि सेनाका प्रत्येक युनिटले शव व्यवस्थापन गर्छ। त्यसैको आधारमा तथ्यांक संकलन हुन्छ,’ सैनिक प्रवक्ता पौडेलले भने।

No description available.

सैनिक तथ्यांक अनुसार सुदूरपश्चिम पृतनाले ११, उत्तरपश्चिम पृतनाले ४१, मध्यपश्चिम पृतनाले ८५, पश्चिम पृतनाले १७, उपत्यका पृतनाले ४ सय ४४, मध्य पृतनाले १ सय ३९, मध्यपूर्वी पृतनाले ५४ र पूर्वी पृतनाले ९८ जना कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) स्रोतका अनुसार सुरुका दिनमा आत्महत्या गरेका तथा बेवारिसे शव तर शंकास्पद शवलाई पनि सेनाले कोरोनाको मृत्युको तथ्यांकमा समेटेको छ। त्यो संख्या बढीमा २० जनासम्मको हुनसक्ने उनले बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अहिले मन्त्रालयल उपलब्ध गराएको तथ्यांक नै आधिकारिक भएको बताए।

‘अहिले मन्त्रालयकै तथ्यांक आधिकारिक मान्ने हो। मन्त्रालयले हरेक दिन भनिरहेको छ। आर्मीको तथ्यांकबारे मलाई नसोध्नुहोस्,’ प्रवक्ता गौतमले भने।

रुजु गर्दै सीसीएमसी
नेपाली सेना र स्वास्थ्य मन्त्रालयको कोरोनाबाट मृत्यु भएकाको तथ्यांक फरकफरक देखिएपछि सीसीएमसीले तथ्यांक रुजु गर्न थालेको छ।

सैनिक प्रवक्ता पौडेलले आफूहरुले तथ्यांक सीसीएमसीलाई उपलब्ध गराइसकेको र यस विषयमा आइतबार सीसीएमसी र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबीच पनि छलफल भइसकेको बताए।

मन्त्रालयका प्रवक्ता गौतमले पनि मृतकको संख्याबारे रुजु भइरहेको जानकारी दिए।

हाल जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको समन्वयमा नेपाल सेनाले संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको छ। सुरुमा जमिनमा गाड्नेमात्रै गरिएपनि पछि धार्मिक परम्परा अनुसार चितामा जलाउने तथा विद्युतीय शव गृहमा जलाउने पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .