समाज


पाँच मिनेट अन्तरमा श्रीमान श्रीमतीको मृत्यु, एउटै चितामा अन्त्येष्टि गरिँदै

पाँच मिनेट अन्तरमा श्रीमान श्रीमतीको मृत्यु, एउटै चितामा अन्त्येष्टि गरिँदै

शैलेन्द्र महतो
कात्तिक १७, २०७७ सोमबार ९:१८,

कतिपय जोडीले प्रेममा पर्दा वा विवाहको बेला सँगै बाँच्ने, सँगै मर्ने वाचा गर्छन् वा भगवानसँग प्रार्थना गरेका हुन्छन्। तर वाचा कसम खाएपनि यस्तो संयोग भने प्रायः जुर्दैन।

कतिपय जोडीको अल्पायुमै विभिन्न कारणले मृत्यु भएका घटना हुने गरेका भएपनि आयू पुगेरै श्रीमान् श्रीमतीको सँगै मृत्यु भएका घटना भने बिरलै देख्न वा सुन्न पाइन्छ।

यस्तै अनौठो संयोग धनुषाको सहिदनगर नगरपालिकामा भएको छ। सहिदनगर नगरपालिका–१ कुम्भकर्ण टोलका ९१ वर्षीय रामखेलावन यादव र ८८ वर्षीया उनकी श्रीमती सुमिन्त्रादेवी यादवको पाँच मिनेटको अन्तरमा मृत्यु भएको छ।

सधैँ जस्तै सोमबार बिहान उठेर नित्य कर्म गरी चिया खाएर गफिएका श्रीमान् श्रीमतीको पाँच मिनेटकै अन्तरालमा मृत्यु भएको स्थानीयले बताए।

स्थानीय नरेश यादवका अनुसार बिहान साढे ७ बजेतिर चिया खाएका रामखेलावनलाई ७ बजेर ४० मिनेटमा छाती दुख्यो। उनले आफूलाई एक्कासी छाती दुखेको परिवारका सदस्यलाई बताए। छोरा उपेन्द्र औषधि लिन गए। तुरन्तै श्रीमती सुमिन्त्रा हेर्न आइपुगिन्। त्यसको केही समयमै ७ः४५ बजे रामखेलावनको मृत्यु भयो। श्रीमान्को मृत्यु भएको देखेर सुमिन्त्रादेवी पनि अचेत भइन्। पाँच मिनेटको अन्तरालमा ७ः५० बजे पत्नी सुमिन्त्राको पनि मृत्यु भएको स्थानीय नरेश यादवले बताए।

‘अनौठो संयोग जस्तै भयो। ह्रस्टपुष्ट रहेका श्रीमान् श्रीमतीको ५ मिनेटकै अन्तरालमा मृत्यु भयो। हामी सबै अच्चमित छौं’ छिमेकी नरेशले भने, ‘एकैपटक श्रीमान् श्रीमतीको मृत्यु भएकाले एउटै चितामा तामझामका साथ जलाउने काम भइरहेको छ।’

मृतक दम्पति रामखेलावन र सुमिन्त्रा देवीका छोरा उपेन्द्र यादव, चार छोरीहरु दुलारी यादव, सुनिता यादव, कुमारी यादव र समारी यादव छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad