सन् २००६ देखि २०१९ सम्म १४ वर्षको अवधिमा संसारभर झण्डै १२ सय पत्रकार मारिएका छन्।
समाचार र महत्वपूर्ण जानकारीहरु सर्वसाधारणसम्म पुर्याएकै कारण उनीहरु मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ।
मारिने १० मा ९ जनाको हत्यामा संलग्नहरुलाई कुनै सजायँ भएको छैन।
यस्तो दण्डहीनताले थप हत्या र द्वन्द्वलाई प्रोत्साहित गर्ने हुँदा कानुनी र न्याय प्रणालीमा ठूलो चुनौति सिर्जना भएको राष्ट्र संघले जनाएको छ।
सांघातिक आक्रमणबिना यातना, जबर्जस्ती वेपत्ता, गैरकानुनी हिरासत, बलजफ्ति, धम्कीजस्ता कारण पनि कैयौं पत्रकारको ज्यान जाने गरेको तर साे संख्या माथिको तथ्यांकमा नसमेटिएकाे राष्ट्र संघले जनाएको छ।
त्यसैगरी यौनहिंसा जस्ता थप कारणले महिला पत्रकारको ज्यान जाने गरेको छ।
यसैबीच राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसले समाजले पत्रकारलाई बचाउन नसक्ने हो भने आफ्नो सूचना पाउने अधिकार र तथ्यमा आधारित निर्णय गर्ने अवसरबाट बन्चित हुने बताएका छन्।
‘पत्रकारहरुले सुरक्षितरुपमा आफ्नो काम गर्न पाएनन् भने अहिले यो महामारीका बेला फैलिएको गलत र भ्रमपूर्ण सूचनाबाट समेत हामी बँच्न सक्दैनौं,’ राष्ट्र संघका महासचिवले भनेका छन्।
नोभेम्बर २ मा मनाइने पत्रकारविरुद्धका अपराधमा हुने दण्डहीनताको अन्त्य दिवसको अवसरमा राष्ट्र संघ र यसका महासचिव गुटेरेसले सो वक्तव्य सार्वजनिक गरेका हुन्।
राष्ट्र संघले ‘पत्रकार बचाऔँ, सत्यको रक्षा गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइरहेको छ।
यो दण्डहीनताको अवस्थाले अपराधीहरुलाई थप अपराध गर्नका लागि प्रोत्साहित गरेको र दण्डहीनताका कारण थप हिंसाको ऋंखला सिर्जना गरेकोप्रति राष्ट्र संघले चिन्ता जाहेर गरेको छ।
‘पत्रकारमाथि आक्रमण हुँदा कारवाही नभएपछि सर्वसाधारणमा पनि निकै नकारात्मक सन्देश प्रवाह हुन्छ,’ राष्ट्र संघले भनेको छ, ‘साथै यस्तो अवस्थामा समग्र समाजले पनि आफ्नै न्याय प्रणालीप्रति विश्वास गुमाउँदै जान्छ।’
Shares

प्रतिक्रिया