समाज


न्युयोर्कमा अनुपम खेरसँगका ती १५ मिनेट

न्युयोर्कमा अनुपम खेरसँगका ती १५ मिनेट

यज्ञराज जोशी
कात्तिक २१, २०७७ शुक्रबार १२:४५,

कैलालीका पुष्कर पन्त न्युयोर्कमा उबर चलाउँछन्। बुधबार अनुपम नाम गरेका एक यात्रुले उनलाई म्यानहटन बोलाए।

नामबाटै भारतीय मूलका यात्रु होलान् भन्ने ठानेका पुष्करले नजिकै गएर सोधे, ‘तपाईं नै हो अनुपम?’

यात्रुले ‘हो’ भनेपछि उनीहरुको यात्रा ‘हेल्स किचन’तर्फ अघि बढ्यो। मास्क र टोपी लगाएका ती यात्रुलाई पुष्करले चिनेनन्।

ट्याक्सीमा बसेको केहीछिनपछि अनुपमले कुराकानी अघि बढाए, ‘त्यसो भए तपाईंको नाम पुष्कर हो?’

‘हो,’ पुष्करले संक्षिप्त जवाफ दिए।

‘कहाँबाट?’ अनुपमले फेरि सोधे।

‘नेपाल, अनि तपाई नि? पुष्करले प्रतिप्रश्न गरे।

‘इन्डिया,’ अनुपमले थपे, ‘मेरो बुबाको नाम पनि पुष्कर हो।’

‘यो संयोगको कुरा भयो,’ पुष्करले भने।

एकछिनपछि अनुपमले मोबाइल निकाल्दै सोधे, ‘के म तपाईंसँग भिडियो बनाउन सक्छु?’

कसैलाई देखाउन होला भन्ठानेर पुष्करले सहमति दिए। त्यसपछि मात्रै पुष्करले चिने– उनका यात्रु त चर्चित बलिउड अभिनेता अनुपम खेर रहेछन्।

‘भिडियो बनाउने क्रममा उहाँले अनुपम नाम गरेको कसैलाई चिन्छौ भनेर सोध्नुभयो। मैले अनुपम खेरलाई चिन्छु भनेँ। उहाँले त्यो मै हुँ भन्दा मैले विश्वासै मानिनँ,’ पुष्करले नेपालखबरसँग भने, ‘फेरि सोधेँ। मै हो भन्नुभयो। बिछट्टै खुसी लाग्यो। जसका फिल्महरु बच्चादेखि हेर्दै हामी हुर्कियौँ, उहाँ मेरो ट्याक्सीमा यात्रा गर्दै हुनुहुन्थ्यो। त्यो मेरा लागि अविष्मरणीय क्षण थियो।’

अनुपम खेर एक समय टेलिभिजनमा प्रेरणादायी कार्यक्रम सञ्चालन गर्थे, जसको नाम थियो, ‘द अनुपम खेर शो– कुछ भी हो सकता है।’ अर्थात् जे पनि हुन सक्छ।

उनले पाहुना बोलाएका बलिउड सेलेब्रिटीहरुले आफ्ना संघर्षका कथा सो कार्यक्रममा सुनाउँथे। जसको एउटै सन्देश हुन्थ्यो– जीवनमा जे पनि हुनसक्छ। अनुपमसँगै १५ मिनेट यात्रा गर्दा ठिक त्यही अनुभव आफूलाई भएको पुष्कर बताउँछन्।

‘अनुपम खेरलाई भेटौंला भनेर मैले चिताएको पनि थिइनँ। तर, जिन्दगीमा जेपनि हुनसक्छ,’ २०११ मा डिभी परेपछि अमेरिका पुगेका पुुष्करले भने।

दुई पटक नेसनल फिल्म अवार्ड र आठ पटक फिल्म फेयर अवार्ड जितेका अनुपमले विभिन्न भाषामा पाँच सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। भारत सरकारको पद्म श्री र पद्मभूषण सम्मान पनि पाएका छन्।

अनुपमले पुष्करको काम, कोरोनाभाइरसले पारेको असर, अमेरिकी चुनाव लगायत अनेक विषयमा भलाकुसारी गरे। पुष्करले आफ्नो बुबा भारतीय सेनामा काम गरेको बताउँदा अनुपम खुसी भए।

पुष्करले अनुपमको थर ‘खेर’ को अर्थ पनि सोधे। अनुपमले कास्मिरी पण्डितलाई खेर भनिने जवाफ दिए।

उनले अनुपमलाई अमेरिका आउनुको कारण पनि सोधेका थिए। अनुपमले आफू ‘न्यु एम्स्टरडम’ नामक टेलिभिजन सिरिजको सुटिङका लागि अमेरिकामा रहेको बताए।

अमेरिकी च्यानल एनबीसीले प्रसारण गरिरहेको यसै सिरिजमा अभिनय गर्न अनुपमले भारतीय सूचना मन्त्रालयअन्तर्गतको फिल्म तथा चलचित्र इन्स्टिच्युटको अध्यक्ष पद त्यागेका थिए।

उत्रने बेला अनुपमसँग पुष्करले एक तस्बिर पनि खिचे। अनुपम मिलनसार, उत्प्रेरक मान्छेका रुपमा आफूले पाएको पुष्कर बताउँछन्।

‘सबैभन्दा ठूलो कुरा नेपाल र नेपालीबारे उहाँलाई राम्रो ज्ञान र सकारात्मक भावना पनि मन पर्‍यो,’ पुष्कर भन्छन्, ‘विदेशी भूमिमा एक चर्चित अभिनेताले सामान्य मानिसझैँ खुलेर कुरा गर्दा निकै आफ्नोपन महसुस भयो।’

कुराकानीकै बीच अनुपमले उनलाई सोधे– अमेरिका आएको कति भयो?

झण्डै १० वर्ष भनेर जवाफ दिँदा उनी भावुक पनि भए।

‘धेरै दसैँ गए बिनाजमरा। धेरै तिहार गए बिनामाला,’ उनले भने, ‘भाग्यले साथ दिए एकदिन नेपाल फर्किन पाइएला, परिवारसँग बसेर धुमधामले दसैँ मनाउन पाइएला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .