काठमाडौंको टोखा नगरपालिका– ३ भूतखेलमा सामुदायिक फिटनेस पार्ककोे उद्घाटन भएको छ।
शारीरिक व्यायामको कमीले मानिसहरुमा अस्वस्थता बढ्दै गएका बेला नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाईएफसी) र डिभी एजुकेशन नेटवर्कको संंयुक्त प्रयासमा फिटनेस पार्कको निर्माण गरिएको हो।
प्रोजेक्ट टेम्पल अभियान अन्तर्गत निर्माण भएको उक्त पार्कको नेपाली कांग्रेसका नेता गगन थापाले शुक्रबार उदघाटन गरेका छन्।
अभियान अन्तर्गत पहिलो पार्क टोखामा बनाइएको र अन्य यस्तै २० वटा पार्क पोखरा, बुटवल लगायतका सहरमा पनि निर्माण गरिने प्रोजेक्ट टेम्पल अभियानले जनाएको छ।
पार्कको उद्घाटन गर्दै कांग्रेस सांसद गगन थापाले बालबालिकादेखि वृद्ध–वृद्धालाई पनि शारीरिक व्यायमको आवश्यकता रहेको बताए।
उनले भने, ‘नियमित व्यायम गर्नु भनेको आफ्नो स्वास्थ्यको सुरक्षा त हुँदै हो र, एकजना नागरिक स्वस्थ रहनु देशका लागि पनि योगदान हो।’
शारीरिक व्यायामको अभावमा नसर्ने रोग बढ्दै गएको भन्दै थापाले आफू स्वास्थ्यमन्त्री छँदा विद्यालयका विद्यार्थीलाई कम्तीमा एउटा खेलसँग जोडेर उनीहरुमा नियमित व्यायामको बानी पार्ने कार्यक्रम सुरु गर्ने तयारी गरे पनि छोटो अवधिका कारण लागू गर्न नसकिएको बताए।
त्यस्तै पूर्व प्रधानसेनापति गौरव शमशेर जबराले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलन राख्नका लागि नियमित व्यायाम आवश्यक रहेको भन्दै देशभर नै यस्ता फिटनेस पार्कको निर्माण जरुरी रहेको बताए।
डीभी एजुकेशन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले प्रोजेक्ट टेम्पल अभियानले युवाहरुलाई स्वास्थ्यप्रति जागरुक बनाउँदै लागूऔषध र मादक पदार्थ आदिको कुलतबाट टाढै राख्ने र युवालाई स्वस्थ्य जीवन शैली अवलम्बन गर्नका लागि प्रेरित गर्ने बताए। उनले टेम्पल प्रोजेक्ट अन्तर्गत निशुल्क प्रशिक्षण समेत दिइने बताएका थिए।

प्रतिक्रिया