आस्था एवं निष्ठाको महापर्व छठ मिथिलाञ्चल लगायत तराई मधेशमा हर्सोल्लासपूर्वक मनाइँदै छ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ। अस्ताउँदो सूर्यलाई अर्घ दिन अहिले मिथिलाञ्चल लगायत तराई मधेशको नदी, पोखरी, इनार लगायतको जलाशय किनारलाई दुलही झैँ सिंगारिएको छ।
जलाशय किनारमा पण्डाल, रंगविरंगी पताखा, झिलमिले बत्तीलगायतले घाटहरु आकर्षक देखिएको छ। घाटमा जताततै गुञ्जिरहेको सुमधुर छठ माताको गीतले झनै रौनकता थपेको छ। सजाइएको घाटमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिन बिहानैदेखि छठ पूजाको सामग्री राखि पूजा आराधना भइरहेको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको गंगासागर, अर्गजा सागर, धनु सागर, दशरथ तलाउ, गोरधोइ सरोवर, विहार कुण्ड लगायत सरोवरहरुलाई विशेष रुपले सजाइएको छ। यस्तै ग्रामिण भेगमा पोखरी तलाउ, इनारलाई समेत झकिझकाउ बनाइएको छ।
आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुने छ। मिथिलाञ्चलमा दिनानाथलाई चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा छठ नहुनेहरुलाई वितरण गर्ने प्रचलन रहेको छ।

परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतका सामग्रीहरु चढाईन्छ। त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।









Shares

प्रतिक्रिया