समाज


काठमाडौँका अधिकांश स्थानीय तहमा विद्यालय खोल्ने तयारी

काठमाडौँका अधिकांश स्थानीय तहमा विद्यालय खोल्ने तयारी

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १२:४०,

कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन्।

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्कोमा छन्।

शंखरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए। ‘हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन सुरु गर्नु भनेर भन्न मिल्दैन। कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ’, प्रमुख श्रेष्ठले भने। यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेका छन्।

तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ। एकैपटक धेरै विद्यार्थी भेला गराउँदा संक्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए।

कीर्तिपुर नगरपालिकालले संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ। कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनका अनुसार, दुईचार दिन विद्यालयमा पढाइ शुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताए। ‘जाडो पनि बढिरहेको छ। अलि न्यानो समय आउँछ। पुसको १५ तिरबाट मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ’, प्रमुख महर्जनले भने।

कागेश्वरी मनोहरा नगरपालिकाले मङ्सिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ। जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए। संक्रमण बढी भएको क्षेत्रमा विशेष स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ।

टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताए। ‘हतारमा विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम झन् बढ्न सक्छ’, प्रमुख अधिकारीले भने। नागार्जुन नगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको छ। संक्रमणको जोखिम बढिरहेकाले विद्यालय खोल्ने निर्णय गरी नसकेको नगरप्रवक्ता थुमराज केसीले बताए।

गोकर्णेश्वर नगरपालिकाले आजदेखि विद्यालय खोल्ने भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले बताए। बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ। जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad