रुपन्देही र बर्दियामा भएका दुई छुट्टाछुट्दै दुर्घटनामा तीन जना युवाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ बस्ने ३५ वर्षीय कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए।
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदह–१० चरङ्गे चोकमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। दाङबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ –०३– ००१ ख ००५९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच बर्दियाको मधुवन नगरपालिका–४ मा टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार एकआपसमा ठोक्किँदा गुलरिया नगरपालिका–४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
दुर्घटनामा गुलरिया–४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीया कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया