मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङमा एक किशोरको ज्यान गएको छ।
लेटाङ नगरपालिका–३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको थियो।बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासी छट्पटाउन थालेपछि बुवा–आमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ।
करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ। शौजनको घाँटी डढेको छ।
शव पोस्टमार्टमका लागि अस्पतालमा लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया