समाज


नागरिक आन्दोलन : नयाँ मान्छे, नयाँ शैली

नागरिक आन्दोलन : नयाँ मान्छे, नयाँ शैली

यज्ञराज जोशी
पुस १७, २०७७ शुक्रबार १६:३,

सडकमा बुख्याचाहरु लडेका छन्। छेउमै उभिएका मानिसहरुका हातमा प्रतिगमनविरुद्ध प्रतिसोध लेखिएको ब्यानर छ।

लडेका बुख्याचाहरुसँगै मानिसहरुका हातहातमा ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथिको प्रहार, इतिहासकै ठूलो अत्याचार’, ‘खै मेरो संविधान?’, ‘समृद्धिको यात्रा ओलीको गाईजात्रा’, ‘संविधान विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’ जस्ता नारा लेखिएका प्लेकार्ड छन्।

यही दृश्यसहित शुक्रबार माइतीघरमा नागरिक अगुवाहरुको अग्रसरतामा संसद विघटनविरुद्ध भएको आन्दोलनको मुख्य आकर्षक थियो, च्याब्रुङ बाजा। एक हुल मानिसहरुले पूर्वी नेपालको लिम्बु जातिले बजाउने च्याब्रुङ बाजा ठटाउँदा माहौल संगीतमय बनेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम असंवैधानिक भएको भन्दै बृहत नागरिक आन्दोलनको ब्यानरमा विगत एकहप्ता यता यस्तै फरक आन्दोलनहरु भइरहेका छन्। जसले यसपटकको नागरिक आन्दोलन विज्ञप्ति, धर्ना, नाराबाजी, लम्बेतान भाषण भन्दा भिन्न बनाएको छ।

Nagarik-Andolan5.jpg

सांस्कृतिक बाजागाजासहितको आन्दोलनले त्यस भेगका मानिसहरुलाई जागृत गराउन मद्दत पुर्याउने विश्वास नागरिक आन्दोलनमा होमिएका मुन्धुमका अध्येता टीबी माङबुङले गरे।

‘हामीले पूर्वदेखि पश्चिम र सबै भेगमा बस्ने मानिस, समुदायलाई समेट्ने उनीहरुको प्रतिनिधित्व गर्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेका छौं,’ माङबुङले भने, ‘प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध उठौं, जागौं भन्ने सन्देश हामीले सबै समुदायमा दिन खोजेका छौं।’

गत पुस ७ गते अभियान्ता, लेखक, कवि, कलाकार तथा सञ्चाकर्मीहरुले संसद विघटनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको विरोध गर्ने निर्णय गरेका थिए। त्यसयता नागरिक अगुवाहरुले भिन्न किसिमले आन्दोलन गर्दै आएका छन्।

गत शनिबार शंखनाद गर्दै संसद विघटनविरुद्ध उनीहरुले आन्दोलन छेडेको सांकेतिक घोषणा गरेका थिए। जहाँ शिल्पी थियटरका प्रबन्ध निर्देशक घिमिरे युवराजले प्रधानमन्त्रीको कदमविरुद्ध शंख फुकेका थिए।

लगत्तै यस समूहले डम्फुसहितको कोणसभा गरेको थियो। जसमा टेक घिसिङ, वीरबहादुर घिसिङ, सोम मोक्तान, कुमारी योन्जन लगायतले डम्फु फुकेका थिए। चार दिशामा छरिएर रहेका सबै नेपालीहरु प्रतिगमनविरुद्ध लड्नुपर्छ भनेर आफूहरु डम्फुसहित सडकमा आएको सोम मोक्तानले बताए।

‘प्रधानमन्त्रीको कदम असैंवधानिक छ। यसको हामी भत्र्सना र अस्वीकार गर्छौ। संविधानको रक्षाका लागि हामी सडकमा आएका हौं,’ मोक्तानले भने, ‘प्रधानमन्त्रीको कदम निरकुंशता लाद्ने ढंगले अघि बढेको छ। यसविरुद्ध चार दिशामा छरिएका सबै नेपालीहरु एक भएर लड्नुपर्छ। जुरमुराउनुपर्छ भन्ने सन्देश दिएर हामीले डम्फुसहित आन्दोलन गरेका हौं।’

आन्दोलनलाई निरन्तरता दिनेक्रममा गत बुधबार उनीहरुले नौमती बाजासहित काव्यिक प्रतिशाेध गरे। जसमा महिलाहरुले नौमती बाजा बजाएका थिए। शनिबार सडक नाटकसहित पहिलो चरणको नागरिक आन्दोलनको अन्त्य हुँदैछ।

Nagarik-Andolan12.jpg

यसअघि नागरिक आन्दोलन हाँकिरहेका देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, महेश मास्के लगायतको पूराना पुस्ताको समूह यस आन्दोलनमा देखिएको छैन।

यसपाली अर्चना थापा (लेखक), अनुभव अजीत (अधिकारकर्मी), आनन्द गुप्ता (मधेसी अधिकारकर्मी), कैलाश राई (लेखक/अभियन्ता), घिमिरे युवराज (रंगकर्मी), ज्योति भट्टराई (कवि), नरेन्द्र खतिवडा (अधिकारकर्मी), युग पाठक (लेखक), युवराज भट्टराई (लेखक) लगायत अनुहारहरु सडकमा नागरिक आन्दोलन हाँकिरहेका छन्। जो अधिकांश यसअघिका नागरिक आन्दोलनमा पनि देखिन्थे।

आन्दोलनको अगुवाई गरिरहेका लेखक युग पाठक उमेरले पनि कोरोनाकालमा पूराना पुस्तालाई साथ नदिने र समयको माग अनुसार नागरिक आन्दोलन हाँक्ने मानिसहरु पनि फेरिँदै जाने बताउँछन्।

‘हरेक पुस्ताले आफ्ना लागि आफैं लड्नुपर्छ। पूराना पुस्ताको समर्थनमा अहिलेको आन्दोलन नयाँ पुस्ताले अघि बढाएको छ,’ पाठकले भने, ‘यसपटक ऐतिहासिक आन्दोलनको जगमा बनेको संधिानमाथि प्रहार भएको छ। यो संसद विघटनमात्रै नभएर देशलाई अस्थिरतातर्फ धकेल्ने असंवैधानिक कदम हो। जसको नयाँ पुस्ताले डटेर सामना गर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .