त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान एक कोरोना संक्रमण बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ।
६२ वर्षीय कोरोना संक्रमित बिरामीको मंगलबार बिहान मृत्यु भएको थियो। बिरामीको मृत्युपछि आफन्तले डा. सविन भण्डारीमाथि हातपात गरेका हुन्। हातपातमा संलग्न कृष्णप्रसाद गौतमलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए।
बुटवलबाट कोरोनाको परीक्षणको नेगेटिभ रिपोर्टसहित रेफर गरिएका बिरामीको सुरुमा अन्य बिरामीलाई राख्ने वार्डमै राखेर उपचार भइरहेको थियो।
पछि टेकु अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। त्यसपछि अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार सुरु गरेको थियो।
बिरामीका आफन्तले भने कोरोना नलागेको व्यक्तिलाई कोरोना संक्रमितलाई राखिने ठाउँमा लगेर उपचार गरेका कारण मृत्यु भएको आरोप लगाएका छन्।

प्रतिक्रिया