नौ दिनदेखि सुन खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्।
औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशा बढेको उद्धारकर्ताहरूले मङ्गलबार जानकारी गराएका छन्। खानीको करिब ५०० मिटरको गहिराईमा उनीहरू फसेको अनुमान गरिएको छ।
पूर्वी चीनको शेन्दोङ प्रान्तको यान्ताई नजिकै रहेको सुनखानीमा जनवरी १० मा विष्फोट भई पहिरो खस्दा २२ व्यक्ति खानीभित्र फसेका छन् । उनीहरू खानीबाहिर आउनका लागि बनाएको भ¥याङ भत्किएको छ र उनीहरू बाहिर निस्किने बाटो अवरूद्ध बनेको छ,।
गत शनिबार खानीभित्रबाट सहयोगका लागि आवाज (सङ्केत) आएपछि खानीभित्र फसेका कामदारलाई जीवितै उद्धार गर्ने आशा पलाएको छ। आइतबार उनीहरूसम्म तार पु¥याईएको थियो र तारमा श्रमिकले आफूहरूमध्ये करिब एक दर्जन व्यक्ति खानीभित्र पानीले घेरिएको अवस्थामा जीवितै रहेको बताएका थिए। उनीहरुले औषधि तथा उद्धारका लागि आग्रह गर्दै आएका छन्।
खानीमा फसेका १० जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बताइएको छ । पत्रमा आफूहरूमध्ये धेरैजना घाइते भएका उल्लेख गरिएको छ । भोकले निकै कमजोर बनेका दुई श्रमिकले खाना पाएपछि पुनः माथि चढ्ने बल मिलेको समेत फसेका श्रमिकले उद्धारकर्ताहरूलाई सन्देश पठाएका छन्।
उद्धारको काम भइरहे पनि खानीको प्रकृतिले गर्दा प्रगति निकै सुस्त रहेको स्थानीय सहरका उच्च अधिकारी चेन फेईले बताए। ‘ग्रेनाइट (पथ्थर) फोडेर उद्धार गर्नुपर्ने भएकोले सुस्त नतिजा आएको हो,’ उनले भने।
फसेका श्रमिकहरू रहेको स्थानमा धेरै पानी भएकाले उनीहरूका लागि खतरा हुनसक्ने उद्धारकर्ताको भनाई छ। चेनका अनुसार खानीमा करिब दुई दिनका लागि खाद्यान्न पठाइएको छ भने सम्पर्कका लागि एउटा टेलिफोन लाइन पनि उनीहरूलाई उपलब्ध गराइएको छ। एजेन्सी

प्रतिक्रिया