इन्टरनेटमा केही कुरा खोज्नुपर्याे भने अचेल सबैभन्दा सजिलो माध्यम बनेको छ– विकिपिडिया। यसको सञ्चालक विकिमिडिया फाउन्डेसनका अनुसार विकिपिडियामा हरेक महिना २१ अर्बपटक सामाग्री खोजिन्छन्।
२००१ जनवरीमा सुरु विकिपिडियाले अघिल्लो महिना मात्र आफ्नो २०औं स्थापना दिवस मनायो। इन्टरनेटको दुनियाँमा ज्ञान भण्डारका रूपमा विकास हुने लक्ष्य लिएको विकिपिडियाको २०औं एनिभर्सरी एक नेपाली युवाका लागि पनि विशेष बन्याे।
किनकि आफ्नो स्थापना दिवसकाे उपलक्ष्यमा विकिपिडियाले विश्वभरबाट योगदान पुर्याउने १८ जनालाई फिचर्ड गर्दै कदर गर्याे। जसमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, कोलोम्बिया, जर्मनी, जापान, बेलायत, दक्षिण अफ्रिका, नाइजेरिया, स्विडेन, घाना, भारत र टुनिसियाका नागरिकसँगै नेपालका २१ वर्षीय तुलसी भगत पनि परेका हुन्।
‘विकिपिडियामा मैले पुर्याएकाे योगदानकाे कदर गर्दै मलाई विश्वभरका प्रतिनिधिमाझ फिचर्ड गरिनु मेरा लागि एकदमै ठूलो कुरो थियो,’ जनकपुरका तुलसीले भने, ‘यसले मसँगै सम्पूर्ण नेपाल, नेपाली र अझ मैले काम गर्ने मैथिली भाषाको पनि प्रमोट भएको महसुस भएको छ।’
मैथिली विकिपिडियाका संस्थापक र मैथिली विकिपिडिया निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकाे भन्दै विकिमिडियाले विश्वभरबाट १८ योगदानकर्ता छनोट गर्ने क्रममा उनलाई पनि समावेश गरेको हो। सन् २०१४ मा तुलसी र उनका ५ साथीले सुरु गरेको मैथिली भाषाको विकिपिडियामा अहिले ९ हजारभन्दा बढी प्रयोगकर्ता छन्। उनीहरूले १३ हजार ६ सयभन्दा बढी लेख प्रविष्ट गरेका छन्। २५ जना सक्रिय प्रयोगकर्ताले महिनामा नियमित लेख्ने गरेका छन्।
मैथिली विकिपिडियालाई यो स्थानसम्म ल्याउन तुलसीको भूमिका अग्रस्थानमा आउँछ। उनी आफैंले पाँच सय आर्टिकल लेखेका छन् भने ८९ हजारभन्दा बढी लेख सम्पादन गरिसकेका छन्।

यसरी सुरु भयो मैथिली विकिपिडिया
तुलसीले कक्षा १० सम्म राजविराजस्थित मामाघरमा बसेर पढेका हुन्। मामाघरमा डेस्कटप कम्प्युटर थियो। दाइहरूसँग बसेर उनले कम्प्युटरका किबोर्डमा हात डुलाउन सिके। १५ वर्षको उमेरसम्म उनी राम्रै कम्प्युटर चलाउन सक्ने भइसकेका थिए।
सन् २०१४ को कुनै दिन स्थानीय दाइहरूले एक कम्प्युटर इन्स्टिच्युटमा मैथिली भाषासम्बन्धी कार्यक्रम आयोजना गरे। त्यस दिन मैथिली भाषाको आफ्नै विकिपिडिया नभएको कुरो उठ्यो।
खोजबिन गर्दा सन् २००८ मा कसैले मैथिली भाषाको विकिपिडिया बनाउने भनेर फाराम दर्ता गरेको तथ्य उनीहरूले भेट्टाए। तर केही काम अघि नबढाउँदा विकिपिडियाले त्यसलाई होल्डमा राखेको थियो।
‘यो कुरा थाहा पाएपछि हामीले क्यालिफोर्नियामा रहेको विकिपिडियाको कार्यालयमा अनलाइनमार्फत सम्पर्क गर्यौं,’ तुलसी सम्झिन्छन्, ‘अधिकारीहरूलाई हामीले मैथिली भाषाको विकिपिडियामा योगदान दिन चाहेको बताएपछि उनीहरू होल्डमा राखिएको पेज सुरुमा परीक्षणका रूपमा सञ्चालन गर्न तयार भए।’
विकिमिडियाले सुरुमा परीक्षणकै रूपमा सञ्चालन गर्न अनुमति दिएपछि २०१४ नोभेम्बरमा तुलसीसँगै विजय चौरसिया, विप्लव आनन्द, संजोग देव र पंकज यादवले मैथिली विकिपिडियामा काम सुरु गरे।
उनीहरूले ३ महिनाको अन्तरालमा मैथिली भाषामा ३ हजारभन्दा बढी आर्टिकल प्रकाशन गरेपछि बल्ल मैथिली भाषाको विकिपिडिया सुरु भएको हो।

विकिपिडियामार्फत मातृभाषा प्रवर्द्धन
मैथिली विकिपिडिया सुरु गर्नुको उद्देश्य मैथिली भाषाको विकास र प्रवद्र्धन गर्नु रहेको तुलसी बताउँछन्।
‘हामीले बचेको समय लगाएर स्वयंसेवक रूपमा यो काम गर्ने हो,’ उनी भन्छन्, ‘हामीले पुर्याएको योगदानबाट हाम्रो मातृभाषाको विकास, प्रवर्द्धनमा राम्रै टेवा पुगेको छ। यसैमा सन्तुष्ट छौं।’
विकिपिडियामा आफूलाई मन लागेका कुरा लेख्ने हो। सबैको आआफ्नै रुचि हुन्छन्। तुलसीले भने सुरुदेखि नै विकिपिडियामा मैथिली संस्कृति, मठमन्दिर, मैथिली साहित्य, परम्परासँग सम्बन्धित लेख/रचना राख्ने गरेका छन्। यस प्लेटफर्मले भाषाबारे आफूसँगै प्रयोगकर्ताको ज्ञान बढाएको उनी बताउँछन्।
विकिपिडियामा उनी शब्द थप्ने काम मात्रै गर्दैनन्, प्रविष्ट लेख/रचना आफ्ना भाषीले पढुन्, ज्ञान लिउन् र सक्रिय रूपमा लागुन् भनेर अभियान पनि चलाउँछन्।
दुई वर्षयता उनले साथीहरूसँग मिलेर ‘ओपन नलेज फर अल’ संस्था खोली स्थानीय सामाग्री डिजिटलाइजेसन गर्ने कामसमेत गरिरहेका छन्। संस्थाका कार्यकारी व्यवस्थापकसमेत रहेका उनी जनकपुर र राजविराजका सरकारी विद्यालयमा विद्यार्थीलाई कम्प्युटरको महत्व र प्रयोगबारे सिकाइरहेका छन्।
‘मैले विकिपिडियासम्बन्धी जागरुकता अभियान सञ्चालन गरिरहेको छु। स्कुलस्कुलमा गएर यसबारे बताउने तथा प्रयोग गर्न सिकाउने गरेका छौं,’ उनी सुनाउँछन्, ‘यसले मैथिली भाषालाई प्रमोट गर्न अझै मद्दत मिलेको छ।’
विकिमिडिया फाउन्डेसनका विकिमिडिया कमन्स, मिडियाविकी, नेपाली विकिपिडियामा पनि उनी स्वयंसेवकका रूपमा कार्यरत छन्। जसमा अन्तर्राष्ट्रिय कम्युनिटीसँग काम गर्नुपर्ने भएकाले राम्रो एक्सोजर पाइने उनी बताउँछन्।
Shares

प्रतिक्रिया