बर्दियामा बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ। गएको असारयता मात्रै बर्दियामा बाघको आक्रमणबाट सात जनाले ज्यान गुमाएका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा भैंसी चराउन गएका राजापुर नगरपालिका १० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीलाई सोमबार दिउँसो बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो।
निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाका अनुसार चौधरीसँगै गएका अन्य गोठालले भने भागेर ज्यान जोगाएका छन्। गोठालाले घटनाको विषयमा जानकारी गराएपछि निकुञ्जबाट हात्तीसहित गएका सुरक्षाकर्मीको टोलीले खोज तलाश गर्दा झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ।
गत असार यता बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकामा ७ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया