फागुन २७ गते कच्चा युरेनियमसहित पक्राउ परेका चार जनाविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ। युरेनियमसहित पक्राउ परेका ४ जना र भारतबाट युरेनियम ल्याएका भनिएका व्यक्तिलाई अभियुक्त बनाउँदै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।
पुरानो घर रामेछाप भई बौद्ध बस्ने जानुका तामाङ, रामेछापकै नारायणसिंह तामाङ, प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपाने पक्राउ परेका थिए। उनीहरुविरुद्ध रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन, २०७७ अनुसार मुद्दा पेस गरिएको एसएसपी सिंहले बताए।
उक्त ऐनको दफा २८ (१) ख को दाबी बमोजिम सजाय माग गर्दै प्रहरी प्रतिवेदन बुझाइएको छ। सो दफाअनुसार रेडियोधर्मी पदार्थ कारोबार गर्नेलाई ७ देखि १२ लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
सुरुमा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले पछि मुद्दा नै परिवर्तन गरेर रेडियोधर्मीसम्बन्धी ऐनअनुसार कारबाही माग गरेको हो।
यो ऐन गत असारमा मात्रै जारी भएको हो।
यो पनि:
युरेनियम बेच्न लागेकी जानुका भन्छिन्: किन्छौँ भनेका ग्राहकले नै पेस्तोल ताकेर हतकडी लगाए
प्रहरी प्रतिवेदनमा जानुकाका ससुरा अम्बरलाई पनि प्रतिवादी बनाइएको छ। उनी अमेरिकामा बस्दै आएका छन्। वृद्ध अम्बर रोगी रहेको जानुकाले बयानमा बताएकी छन्। प्रहरी प्रतिवेदनमा भने उनी हाल नेपालमा नरहेको बुझिएको भन्दै उनलाई पनि सजाय माग गरिएको छ।
अम्बरले २० वर्षपहिले भारतबाट फर्किंदा सो युरेनियम ल्याएको बताइएको छ। तर जानुका बिहे गरेर आउनुभन्दा पहिले नै ल्याइएको बताइएकाले त्यो कहाँबाट, कसरी, कहिले आयो भन्ने ठोस प्रमाण समेत प्रतिवेदनमा छैन।
नास्टको सल्लाह मानेन, अपुरो रिपोर्टमै टार्यो
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बरामद युरेनियमबारे विस्तृत रिपोर्ट दिन सकेको थिएन। बरामद पदार्थमा युरेनियमको मात्रा कति छ, त्यो पत्ता लगाउन अन्यत्र परीक्षणका लागि नास्टले सिफारिस गरेको थियो।
चैत १ गते दोश्रो पटक प्रहरीलाई रिपोर्ट बुझाउँदै रेडियोधर्मी भएको पुष्टि गरेपनि त्यहाँ के कति युरेनियम छ भन्ने पत्ता लगाउन विदेश लैजान सुझाव दिएको थियो।
प्रहरीले भने प्रहरीले रेडियोधर्मी पदार्थ छ भनेकै रिपोर्टलाई आधार मानेर युरेनियमसम्बन्धी मुद्दाको प्रतिवेदन बुझाएको हो। थप परीक्षण हुन नसक्दा बरामद युरेनियम कति मूल्यको हो भन्ने समेत खुलेको छैन।
जानुकाको बयानअनुसार प्रहरीले नै ग्राहक बनेर उक्त पदार्थ बरामद गरेको पुष्टि हुन्छ। सातदोबाटोको एक क्याफेबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
युरेनियम बेच्न भन्दै प्रहरीसम्म पुगेका अभियुक्तहरुलाई प्रहरीले परीक्षण गरेर युरेनियम हो भन्ने पुष्टि भएपछि बरामद गरिएको थियो।
यो पनि:
युरेनियमको मात्रा पत्ता लगाउन नसकेपछि नास्टले भन्योः अन्यत्रै परीक्षण गरौँ
तर, प्रहरीले यो प्रकरणसम्बन्धी थुप्रै प्रश्नको जवाफ दिन सकेको छैन। मुद्दा नयाँ भएकोले प्रहरी समेत अलमलमा परेको विज्ञहरु बताउँछन्।
नेपालजस्तो देशमा युरेनियम कहाँबाट कसरी आइपुग्यो भन्ने कुरा निकै गम्भीर विषय भएको पूर्व प्रहरी अधिकारी बताउँछन्।
युरेनियम बरामद गरेको सार्वजनिक गर्दैदेखि प्रहरीले लापरबाही गरेको भन्दै नास्टले यसका खतराबारे जानकारी दिँदै सुरक्षित राख्न सुझाव दिएको थियो।
उक्त पदार्थ अप्रशोधित युरेनियम हुन सक्ने नास्टको अनुमान छ।
‘रेडियोकेमेस्ट्री (रेडियोधर्मी पदार्थबारे अध्ययन गर्ने विषय) ले रेडियोधर्मी वस्तुहरुको असली पहिचान गर्ने ठ्याक्कै रसायन विश्लेषण गर्ने उपकरण हामीसँग छैन। हामीसँग विकिरणयुक्त नमुना हो कि होइन, विकिरणयुक्त हो भने त्यहाँबाट कस्तो विकिरण उत्सर्जन भइरहेको छ भन्ने मापन गर्ने यन्त्र मात्र छ,’ नास्टका प्रवक्ता सुरेश ढुंगेलले भनेका थिए।
तर प्रहरीले भने थप अध्ययन र मुद्दाको ठोस अनुसन्धानबिनै टालटुले प्रतिवेदन बुझाएको छ।
नेपालमा युरेनियमको खपत समेत नरहेकाले विदेशबाट यहाँ ल्याउनु पर्ने कारण नरहेको सुरक्षा अधिकारीहरु बताउँछन्। बहुमूल्य र खतरनाक वस्तु २० वर्षसम्म कसरी लुकाइयो भन्ने कुराको पनि जवाफ प्रहरीले पत्ता लगाउन सकेन।
अभियुक्तले भनेझैँ २० वर्ष पहिले भारतबाट ल्याइएकै हो भन्नेमा प्रहरी विश्वस्त देखिएको छ।
बरामद भएको पदार्थ अब अदालतको फैसलापछि के गर्ने भन्ने टुंगो लाग्ने प्रहरी अधिकारीहरु बताउँछन्। तर ठोस प्रमाण जुटाउन नसक्दा प्रहरी अनुसन्धान कमजोर देखिएको छ।
थप:
युरेनियम नेपाल ल्याउने व्यक्ति अमेरिकामा, बेचिदिनेलाई २/२ करोड कमिसनको प्रलोभन

प्रतिक्रिया