राजा रणबहादुर शाहकी जेठी रानी राजराजेश्वरीले सती जाने बेलामा आफ्ना गरगहना वायु र आकाश देउतालाई चढाएकी थिइन्।
२०६८ सालमा उत्खननका क्रममा ती गहना फलामको बाक्साभित्र अभिलेखसहित फेला परे। ती गहनालाई अब हनुमानढोका संग्रहालयमा यसै महिना खुलेको ढुकुटीघरमा हेर्न पाइनेछ।
सतीको गहनालाई ढुकुटी घरमा प्रदर्शनमा राख्दै सर्वसाधारणका लागि खुला गरिएको छ। संग्रहालयका प्रमुख सन्दीप खनाल यसलाई संग्रहालयको ‘मास्टर अब्जेक्ट’ मान्छन्।
‘सबै संग्रहालयमा एउटा मास्टर अब्जेक्ट भन्ने हुन्छ। यस संग्रहालयको सबैभन्दा महत्वपूर्ण वस्तु भनेकै यही हो,’ नेपालखबरकर्मीलाई संग्रहालयको अवलोकन गराउँदै खनालले भने, ‘यसअघि सती जानेले देउतालाई गहना चढाउँथे भनेर इतिहासमा पढिन्थ्यो। यहाँ अभिलेखसहित हेर्न सकिन्छ।’
संग्रहालयको पश्चिमपट्टि एउटा वृत्ताकार भवन छ। जसलाई ढुकुटी घरका नामले चिनिन्छ। तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले ढुकुटी राख्न भवन बनाएका थिए।
यसै भवनमा राणा तथा शाहकालीन ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन्। विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिने देवदेवीका मूर्तिहरु, सुन, चाँदी तथा तामाका गरगहना, सुन चाँदीका सिक्का, इस्ट इन्डिया कम्पनीले जारी गरेको दुर्लभ सुनका सिक्का, तत्कालीन नापतौलका सामग्रीहरु, राज्याभिषेक समारोहमा हात्तीको शिरमा सजाइने चाँदीको चन्द्र कलश, भगवान श्रीकृष्णलाई चढाउने सुन तथा चाँदीका मुकुटहरु यहाँ छन्।
मल्लकाल तथा शाहकालका राजा र राणाहरुको बसोबास हनुमानढोका क्षेत्रमै थियो। दरबार (लायकू) र मन्दिर (देगः) हरुको वास्तुकलाको सम्मिश्रण रहेको यो स्थललाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचीकृत गरेको थियो।
के के हेर्न पाइन्छ संग्रहालयमा?
संग्रहालयमा मयुर प्वाँखसहितको सुन र चाँदीको दुईवटा मुकुटले आगन्तुकलाई स्वागत गर्छ। तत्कालीन शासकहरुले भगवान श्रीकृष्णलाई चढाउन यस्ता मुकुट बनाउँथे। जसमा ५ थान माणिक तथा ६० थान हिरा जडित छ।
त्यसपछि देब्रेपट्टि ११ वटा प्रदर्शनीहरुमा विभिन्न गरगहना तथा सामग्री छन्।
अर्कोतर्फ अहिले पनि सर्वसाधारणका लागि खुला नगरिएको मूल ढुकुटीमा रहेका सामाग्रीहरुको तस्बिर राखिएको छ। ती २४ वटा तस्बिरमध्ये मुख्य आकर्षण हो– चाँदीको इँट्टा। एउटा इँट्टा ३०–३२ केजीभन्दा माथि रहेको खनालले बताए। मूल ढुकुटीलाई २४ घण्टा सीसीटीभीबाट निगरानीमा राखिएको र सेनाले पहरा दिने गरेको खनालले बताए।
देब्रेपट्टिको पहिलो प्रदर्शनीमा राजाको राज्यभिषेकका बेला हात्तीको शिरमा सजाएर राखिने चन्द्रकलशहरु राखिएका छन। त्योसँगै ठेकी र पेरुङ्गोसहितको चाँदीको भार राखिएको छ। जुन मंगल कार्यमा दरबारियाहरुले प्रयोग गर्ने गर्थे। अहिलेपनि फुलपातीको बेला बढाइँ हुँदा ठेकी र पेरुङ्गोको भार प्रयोग हुने खनालले बताए।
त्यसपछि विभिन्न कालखण्डका शासकहरुले देवीदेउतालाई चढाएका सामग्री छन्। हनुमानढोकाको सुरक्षाको जिम्मा सेनाको ‘गुर्जुको पल्टन’ले गर्ने गर्छ। पल्टनका विभिन्न दर्जाले लगाउने सुनको चाँद पनि प्रदर्शनीमा राखिएको छ।
रणबहादुर शाहका पालामा उपत्यकामा बिफरको महामारी फैलिएको थियो। शीतलादेवीलाई पुजेपछि महामारी कम हुन्छ भन्ने मान्यता अनुरुप शीतलादेवीको चाँदीको मुर्ति बनाइएको थियो। रणबहादुर शाहका पालामा बनाएको उक्त मूर्ति समेत प्रदर्शनीमा छ।
‘देउतालाई सजावट गर्ने मुसल, छत्रहरु, आशाबुर्जा, सुन र चाँदीका मुन्डमाला, चाँदी र सुन मिसिएको कमलपत्रमाला, बेलपत्र मालाहरु समेत प्रदर्शनीमा राखेका छौँ,’ खनालले भने, ‘हाम्रो नेपाली संस्कृति कति भव्य छ भन्ने यहाँ हेरेपछि थाहा हुन्छ। विद्यार्थी तथा अध्येताका लागि यो विशिष्ट स्थान हो।’
संग्रहालयमा शाहकालीन, जयप्रकाश मल्लका मुद्रा पनि छन्। जसमध्ये दुई वटा विशेष छन्–जसमा दुईवटा मुद्रा विशेष प्रकारका छन्–शाहकालीन फुक्का दाम र चुन दाम। हातमा राखेर फुक्दा उड्ने भएकाले फुक्का दाम भनिएको हो।
इस्ट इन्डिया कम्पनी हुँदा बनाइएका चाँदीका सिक्का पनि यहाँ देख्न पाइन्छ। उक्त सिक्काको एकातिर अरबी अक्षरमा लेखिएको छ भने अर्कोतिर इस्ट इन्डिया कम्पनीको लोगो अंकित गरिएको छ। दुई टुक्रा पारिएका चाँदीका सिक्का पनि देख्न पाइन्छ। मुलुकमा आर्थिक संकट हुँदा मुद्रालाई दुई टुक्रा बनाएर बाँड्ने गरिएको खनाल बताउँछन्।
०७२ को भूकम्पले काष्ठमण्डप क्षतविक्षत बनाएको थियो। त्यसबेला उत्खनन् गर्दा भेटिएका सुनका मण्डपको छाप भएका पाताहरु, उत्खननका क्रममा विष्णुगुप्तको पालाको समयको सिक्का र काठलाई सुरक्षित राख्न तलबाट बनाइएको तामाको क्याप प्रदर्शनीमा छन्।
शाहकालीन समयमा प्रयोग हुने एक तोलादेखि ५० तोलासम्मका ढकहरु प्रदर्शनीका अर्को आकर्षण हुन्। राजा त्रिभुवनका छाप भएको पाथी तथा राजा त्रिभुवनलाई उपहारस्वरुप पाएको डोक्सा कम्पनीको घडी समेत यहाँ छ।
बाहिरिने स्थानमा स्थानीय जात्रा–पर्वका जानकारी दिइने व्यवस्था छ। जहाँ अहिले इन्द्रजात्राका बारेमा जानकारी राखिएको छ। समयानुसार त्यहाँ अन्य जात्रा पर्वको बारेमा पनि जानकारी राख्दै जाने संग्रहालय प्रमुख खनालले जानकारी दिए।
दैनिक तीन सय बढी आगन्तुक
खनालले भूकम्प, महामारीका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई उकास्न संग्रहालयले केही मद्दत पुर्याएको बताए।
‘मंसिरको पहिलो साता यहाँभित्रका चोकहरु खोल्दा दैनिक सरदार ५० जना आगन्तुक आउँथे। ढुकुटी समेत खोलेपछि अहिले दैनिक ३ सयभन्दा माथि आगन्तुक आइरहेका छन्,’ खनालले भने, ‘दैनिक १०–१२ विदेशीहरु पनि देखिएका छन्। ग्यालरी खोलेपछि एकघण्टा मान्छेलाई भुल्न सक्ने अवस्था बनेको छ।’
आगन्तुकलाई आकर्षित गर्न संग्रहालयमा हप्ताको तीन दिन सोमबार, बिहीबार र शनिबार निशुल्क टुर गाइडको व्यवस्था गरिएको उनले बताए। ती दिनमा संग्राहलयभित्रका चोक, प्रदर्शनी कक्ष र गद्दी बैठकको भ्रमण गराउँदै आगन्तुकलाई त्यसबारे जानकारी दिइन्छ।
यसै आर्थिक वर्षभित्र सार्वसाधारणका लागि गद्दी बैठक पनि खोल्ने, वाद्यवादन सामाग्री र नयाँ गरगहना पनि प्रदर्शन गर्ने तयारी रहेको उनले बताए।
भिडिओ:
Shares
प्रतिक्रिया