तेह्रथुमको आठराई गाउँपालिका ४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेर सोमबार नेपाल ल्याएको छ। उनलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीको टोली यूएईमै पुगेर पक्राउ गरेको हो।
रोजगारीका क्रममा ८ वर्षदेखि यूएईमा रहेका काजीमानले आफ्नी श्रीमतीको हत्या गराएको प्रहरीको आरोप छ। गत वर्ष चैत २९ गते २८ वर्षीया बिन्दा पुरीको घरमै हत्या भएको थियो। बिन्दाको हत्या काजीमानकै योजनाअनुसार भएको पाइएपछि नेपाल प्रहरीले इन्टरपोल मार्फत रेड नोटिस जारी गरेको थियो।
काजीमानको निर्देशनमा उनका भाइहरु २४ वर्षीय बालकृष्ण पुरी र ३१ वर्षीय सुरेन्द्र पुरीले घरमै बिन्दाको हत्या गरेका थिए। उनीहरुलाई भने प्रहरीले घटनाको भोलिपल्ट पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा काजीमानको पनि संलग्नता खुलेपछि प्रहरीले एक वर्षदेखि काजीमानलाई पक्राउ गर्न पहल गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता कमल ठाकुरले बताए।
यसरी भएको थियो बिन्दाको हत्या
विदेशमा भएका काजीमानसँग बिन्दाको दुरी बढ्दै थियो। बिन्दा आठराईको तीनसल्लेमा बस्थिन्। काजीमानले पत्नीबारे गाइँगुइँ चर्चा सुने। त्यसपछि उनले इटहरी बस्ने भाइहरुलाई फोन गरेर सोधे। उनीहरुले भाउजुको चाला निको नरहेको बताए। त्यसपछि काजीमानले बिन्दालाई सिध्याउने निर्णय गरे।
तीन दाजुभाइबीच बिन्दाको हत्या गर्ने योजना बन्यो। काजीमानको निर्देशनअनुसार उनका दुई भाइ भाउजुको हत्या गर्न तयार भए।
पक्राउ परेका दुई भाइको बयानअनुसार पहिलो योजना सफल हुन सकेन। मार्नचाहिँ मार्ने नै हो तर अरुले थाहा नपाउने गरी भन्ने उनीहरुको योजना थियो।
घरमा अन्तर्वार्ताका लागि काठमाडौँ जाने हो भनेर चैत २८ गते सुरेन्द्र र बालकृष्ण तेह्रथुमतिर बाटो लागे।
इटहरीमा चक्कु किने। झापाको बुधबारेमा प्लास्टिकको डोरी किने। त्यहाँबाट तेह्रथुमका लागि रातिको गाडी चढे। गाडी चढ्ने बेलामा उनीहरुले भनेका थिए, ‘हाम्रो मान्छे सिकिस्त बिरामी छन्, जसरी पनि लगिदिनु प¥यो।’
दिउँसो जाँदा चिनजानका मान्छे भेट हुन्छन् भनेर उनीहरु राति बाटो लागेका थिए। दाजुभाइले नै बाटोमा जाँड खाए। बीचबीचमा काजीमानसँग फोनमा कुरा पनि भइरहेको थियो।
उनीहरु राति १२ बजे तीनसल्लेस्थित भाउजुको घरमा पुगे। सुरुमा ढोका ढकढक्याए। तर, बिन्दाले ढोका खोलिनन्।
ढोका नखुलेपछि भाउजुको नम्बरमा फोन गरे। अनि, पैसा तिर्न आएको आउँदा आउँदै रात प¥यो भनेपछि बिन्दाले ढोका खोलिन्।
ढोका खोलेपछि भने– ‘भाउजु हामीलाई भोक लागेको छ। केही खाजा बनाइदिनुस् न।’
बिन्दा देवरहरुलाई खाना बनाइदिन भान्सामा पसिन्।
तर, पछिपछि भान्सामै पुगेर दुई भाइले उनीमाथि आक्रमण गरे। पछाडिबाट हिर्काएपछि बिन्दा भान्सामै ढलिन्।
बिन्दाले ज्यान बचाइदिन अनुनय गरिन्, ‘मेरो बच्चाहरुको बिजोग हुन्छ, के गर्न लाग्नु भएको? मलाई केही नगर्नुस्।’
बिन्दाका दुई छोरा छन् ११ र २ वर्षका। तर, देवरहरुले उनको अनुरोध सुनेनन्। डोरीले पासो लगाए। डोरी चुडिँयो। त्यसपछि चक्कुले घाँटीमा रोपे र बिन्दाको हत्या गरे।
हत्या गरिसकेपछि भाउजुका भित्रि लुगाहरु पनि खोलिदिए।
बयानमा उनीहरुले भनेका छन्, ‘कपडा खोलिदिएपछि कसैले बलात्कारपछि मारेर भागेको रहेछ भन्ने होस्। हामीमाथि शंका नहोस् भन्ने थियो।’
त्यसपछि उनीहरु त्यहाँबाट भागे। लुगामा रगत लागेको थियो। बाटोमा पुगेपछि जंगलमा कपडा फेरे।
गाडी चढ्ने बेलामा उनीहरुले आफन्त सिलिगुडीमा सिकिस्त बिरामी भएको बताएका थिए। त्यो राति नै फर्किएर काँकडभिट्टामा नै बसे।
घरमा भने उनीहरुको यो गतिविधिबारे केही पनि थाहा थिएन।
बिन्दाको हत्या भएको कुरा भोलिपल्ट इटहरीमा भएको परिवारले थाहा भयो। परिवारले काठमाडौं गएका भनेका दुई भाइलाई जानकारी गराए। तर, रामकृष्ण र सुरेन्द्रले ‘हामी त काठमाडौँमा छौँ। भोलि फ्लाइटबाट भद्रपुर आउँछौँ। त्यसपछि आठराई जाउँला।’
उनीहरु भने काँकडभिट्टामै थिए।
यता प्रहरीले शव पोष्टमार्टमका लागि धरान लैजानु पर्छ भन्यो। आफन्त चाहिने भएपछि उनीहरु सीधै धरान जाने सल्लाह गरे र परिवारसँग इटहरीमा भेट भयो।
प्रहरीले घटनामा संलग्नको पहिचान गर्न अनुसन्धान गरिरहेको थियो। सीडीआर एनालाइसिस, कल डिटेल, लोकेसनलगायत अनुसन्धानले घटनामा उनीहरुको संलग्नता देखियो।
चैत ३० गते इटहरीबाट दुवै भाइलाई प्रहरीले पक्राउ ग¥यो। सोधपुछका क्रममा पनि उनीहरुले हत्या गरेको स्वीकार गरे।
बालकृष्ण र सुरेन्द्र जिल्ला अदालत तेह्रथुमको आदेशमा पुर्पक्षका लागि थुनामा छन्। तर यसको योजनाकार काजीमान भने विदेशमै थिए।
ठिक एक वर्षपछि पक्राउ गरेर नेपाल ल्याएको प्रहरीले उनलाई तेह्रथुम लैजाने तयारी गरेको छ। प्रहरी निरीक्षक कमल ठाकुर उनलाई लैजानका लागि काठमाडौँमै छन्। शंकाकै आधारमा श्रीमतीको हत्या गराउने काजीमान पनि एक वर्षपछि फन्दामा परेका छन्।

प्रतिक्रिया