समाज


उज्यालो नेटवर्कका सम्पादक र महाप्रवन्धकलाई पक्राउ गरिएकोप्रति महासंघको आपत्ति

उज्यालो नेटवर्कका सम्पादक र महाप्रवन्धकलाई पक्राउ गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ९:४२,

नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ। साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ।

यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रष्ट भएको महासंघले जनाएको छ।

‘समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन्। त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ’ आइतबार विज्ञप्ति प्रकाशित गरी महासंघले भनेको छ।

प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न नेपाल पत्रकार महासंघ नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकर्षण गराएको छ। अन्यथा महासंघ आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad