निजी अस्पतालहरुले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारले दिएको निर्देशन हावादारी भएको बताएका छन्।
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष बसन्तकुमार चौधरीले एक विज्ञप्ति प्रकाशित गर्दै १५ दिन भित्र अक्सिजन प्लान्ट जडान हुन नसक्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वुधबार कम्तीमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो।
सीमित साधन-स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचारमा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुने चौधरीले बताएका छन्।
अक्सिजन प्लान्ट बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण नभएको विज्ञप्तिमा भनिएको छ।
'विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन। प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ', विज्ञप्तिमा भनिएको छ।
यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय भएको विज्ञप्तिमा उल्लेख छ।
'देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको पनि हामी जानकारी गराउन चाहान्छौं', विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया