कपिलबस्तुको तौलिहवामा माओवादी केन्द्रका एक नेतासहित दुई जनामाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको छ।
माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डे र एक भारतीय युवामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा नेता पाण्डे र भारतीय नागरिक ईयाज अख्तरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
राति ११ बजे मोटरसाइकल चढेर जगदीशपुरतर्फ जाँदै गरेको बेला तीनजनाको समूहमा रहेका अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा ३५ वर्षीय पाण्डे सख्त घाइते भएका छन्। प्रहरीका अनुसार गोली प्रहार गर्नेहरु एउटै मोटरसाइकलमा तीन जना सवार थिए।
पाण्डेको पेट र कम्मरमाथि पेस्तोलबाट प्रहार भएका दुईवटा गोली लागेको जिल्ला प्रहरी कर्यालय कपिलबस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए। भारतीय युवा अख्तरलाई भने पाखुरामा एक गोली मात्रै लागेको छ।
उनीहरु दुबैको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। पाण्डे क्रसर व्यवसायी भएका प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया