नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत् धौलागिरी हिमालबाट संकलन गरिएको फोहोर अभानी भेन्चर्स प्रालिलाई हस्तान्तरण गरेको छ।
शुक्रबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले संकलित फोहोर व्यवस्थापन गर्ने प्रयोजनको लागि सो संस्थालाई हस्तान्तरण गरेका हुन्।
फोहोर संकलनको क्रममा उक्त हिमालमा फेला परेको दुई वटा मानव अवशेष (कंकाल) आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि मिति जेठ ५ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बुझाइएको सेनाले जनाएको छ।
हिमालबाट संकलन गरिएको ५ हजार २० केजी फोहोर मध्ये कुहिने तीन सय केजी फोहोर जेठ ३ गते धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४ हजार ७२० केजी फोहोर रिसाइक्लिङ गर्ने प्रयोजनको लागि अभानी भन्चर्स प्रालिलाई आज हस्तान्तरण गरिएको हो।
सफा हिमाल अभियान अन्तर्गत् विभिन्न ६ वटा हिमालहरुको सफाई कार्यक्रम यही जेठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई मनन गरेर धौलागिरी तथा आमादब्लम हिमालको सफाई कार्यक्रम जेठ ३ गते सम्पन्न गरिएको छ।
मकालु हिमालको सफाई जेठ ११ गतेसम्म र सगरमाथा लगायत ल्होत्से तथा पुमोरीको सफाईलाई जेठ १५ गतेसम्म निरन्तरता दिइने योजना रहेको सेनाले जनाएको छ।
प्रतिक्रिया