हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड तीज आजबाट सुरु भएको छ। तीज अन्तर्गत आज दरखाने दिन।
भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म ४ दिन तीज मनाइन्छ। मीठा परिकारका साथ आज दर खाइँदैछ। भोली बस्ने हरितालिका तीजको ब्रतअघि मीठा-मीठा परिकार बनाएर दरखाने प्रचलन छ।
टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ दरखान जाने गर्छन्।
माइतीले छोरीचेलीलाई दरखान बोलाउने चलन पुरानो हो। दरमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरिन्छ।
दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन चलेको हो।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक- फरक छ। कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ।
पहिला पहिला एक दिनमात्र दरखाने परम्परा थियो। तर, आजभोली राजधानी काठमाडौँसहितका शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ। दरमा मासु र मदिराकोसमेत प्रयोग हुन थालेको छ।
परपुर्व कालमा पार्वतीले शीवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पुरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गरिन्छ। भारतका कुनै कुनै प्रान्तमा समेत तीज मनाउने प्रचलन छ।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ।

प्रतिक्रिया