अमेरिकाको टेक्ससमा फेरि अन्धाधुन्द गोली प्रहारबाट कम्तीमा पाँच जना मारिएका छन्। घटनामा १६ जनाभन्दा बढी घाइते भएका छन्।
बीबीसीका अनुसार घाइतेमध्ये केही प्रहरी पनि छन्।
एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूलाई जथाभावी गोली प्रहार गरेकाे बताइएकाे छ।
ती व्यक्तिले टेक्ससका ओडेसा तथा मिडल्यान्डमा यसरी गाेली प्रहार गरेकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ।
ओडेसा नगरका प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए।
करिब ३० वर्षका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसेर नजिकैको मिडल्यान्ड नगरमा हिँडिरहेका मानिसलाई लगातार गोली प्रहार गरेका थिए।
ती व्यक्तिलाई पनि प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको बताइएको छ।
ओडेसाको अस्पतालमा भर्ना गरिएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यसैबीच गोलीकाण्ड लगत्तै ट्वीटरमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले घटनाको जानकारी लिइरहेको बताएका छन्।
चार साता अगाडि पनि टेक्ससकै एल पासो नगरमा गोलीकाण्ड भएको थियो। जसमा २२ जना मारिएका थिए।

प्रतिक्रिया