समाज


चन्द्र-सूर्यअंकित ‘नेपालीस्याट-वान’ले पृथ्वी फन्को मार्न थाल्यो

चन्द्र-सूर्यअंकित ‘नेपालीस्याट-वान’ले पृथ्वी फन्को मार्न थाल्यो

मणि दाहाल
असार २, २०७६ सोमबार १०:४४,

 चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ। अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो।

नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न छन्। नेपालीसहित जापान र श्रीलंकको पनि नानो भूउपग्रह अन्तरिक्षमा छाडिएको छ।

अन्तरीक्षमा छोडेसँगै नेपालीस्याट-वानले पृथ्वीको परिक्रमा गर्न थालेको छ।

बैशाख ५ मा अमेरिकाको भर्जिनिया, वल्लोप्स द्विपस्थित नासाको अर्बिटल एटिके प्रक्षेपण केन्द्रबाट नेपालस्याट–वान अन्तरीक्षमा पठाइएको थियो। 

 भिडियो

१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह १ किलो ३३० ग्रामको छ। नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ। प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ। 

नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको पहिलो नानो भूउपग्रह अन्तरीक्षमा छोड्ने अवसमा जापानमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन्।

जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा विद्यावारिधी गदै मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत छात्रवृत्तिमा नानो भूउपग्रह निर्माण गरेका हुन्। जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ।

नानो भूपग्रहमा फोटो खिच्न क्यामेरा जडान गरिएको छ। जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु अध्ययन एवं प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ। दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ। अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ। यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपका बेला थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ। अन्तरीक्षमा नेपालीस्याट-वानको आयु ६ महिनादेखि एक वर्षसम्म हुने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad