समाज


तिम्ल्याहा बच्चा जन्माउने महिलाको हेलिकोप्टरमार्फत उद्धार

तिम्ल्याहा बच्चा जन्माउने महिलाको हेलिकोप्टरमार्फत उद्धार

नेपालखबर
असोज ७, २०७६ मंगलबार १२:९,

दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकोप्टरमार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गरेको हो। आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसीयूमार्फत थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए।

उनीहरुको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार हुने बताइएको छ। तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले जानकारी दिइन्। कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महिना अघि नै तीन बच्चा जन्माएकी हुन्। यसअघि धामीका छ वर्ष र तीन वर्षका छोरी छन्।

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा थप उपचारका लागि रिफर गरिएको ठगुन्नाले बताइन्। धामीलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो।

सोमबार नै एयर एम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भए पनि कागजी प्रक्रियामा ढिलाइ हुँदा सोमबार बिहान मात्र उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए। ‘गाउँपालिकाले सोमबार ढिलोगरी जानकारी गरायो’, उनले भने, ‘कागजी प्रक्रिया मिलाउँदा आज बिहान मात्र स्वीकृत भएर हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।’

सरकारले समयमै महिला र नवजात शिशुको उद्धार गरेपछि सामाजिक प्रयोगकर्ताहरुले सरकारको प्रशंसा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .