गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ७२८४ नम्बरको माइक्रोले शुक्रबार सोही दिशातर्फ जाँदै गरेको बा४९प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका–१२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको हो। माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
दुर्घटनामा सोही गाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन्। घाइते भट्टको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया